logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

खादामाला निषेध सहित वक्तालाई अनिवार्य समयसिमा निर्धारण: Lions International District 325 I, Nepal

प्रभातफेरी अनलाइन३ पटक पढिएको | १ घण्टा अघि
खादामाला निषेध सहित वक्तालाई अनिवार्य समयसिमा निर्धारण: Lions International District 325 I, Nepal

“LY 2026/027 “CARING BY SHARING” मुल नाराका साथ ४६ बुदें घोषणा पत्र जारीगर्दै Advisory Council मिटिङ्ग सम्पन्न ”

चितवन / LIONS Lions International District 325 I (MD 325), Nepal LY 2026/027 को Advisory Council बैठक शब्य र भब्य समारोहका बीच चितवनमा सम्पन्न भएको छ ।

LIONS Lions International District 325 I (MD 325), Nepal को बार्षिक योजना निर्माण गर्न बसेको बैठकले पहिलेका बर्षहरुमा तयार गरिएका तथा संसोधित थप बुदाँहरुलाई समेट्दै सर्वसहमत पारित भएका बुँदाहरुलाई बैठकले अनुमोदित गर्दै सार्वजनिक गरेको छ । प्रमुख सल्लाहकार लायन ॠषि गिरि र गभर्नर लायन सुर्य कुमार केसिद्वारा संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको मिति २०८३ साल श्रावण २ गते सनिबार तद अनुसार १८ जुलाई २०२६ का दिन चितवन, जुगेडी स्थित भतेरीमा रहेको होटल रिजेन्ताको सभा हलमा प्रमुख अतिथि लायनवादका अभिभावक आदरणीय इन्टरनेसनल डाइरेक्टर लायन राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर लायन सुर्य कुमार के सि, डिष्ट्रिक्ट फर्स्ट लेडी लायन संगिता के सि, मल्टिपल चिफ इडिटर लायन मनबहादुर रोका ,प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन शैलेन्द्र मोहन भट्टराई, दितिय भाईस डिष्ट्रिक्ट गभर्नर लायन बिष्णु भण्डारी, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन राम बहादुर बसेल, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन चन्द्र कुमार केसी, पूर्व डिष्ट्रिक्ट गर्भनर लायन इन्दु लम्साल, समेतको उपस्थितीमा एड्भाईजरी काउन्सिलका ८७ जना लायन्स सदस्यहरु सहित बसेको वैठकले निम्नानुसारका विषयहरुमा छलफल गर्दै आवश्यक सल्लाह सुझाव दिई लायन वर्ष २०२६/०२७ को लागि जारी गरिएको चितवन घोषणा पत्रलाई बुदाँगतरुपम सार्वजनिक गरिएको उल्लेख छ ।

जस अनुसार :

१. क्लवहरुको पदस्थापन कार्यक्रम जुलाई को १९ तारिख बाट सुरुवात गरी अक्टोवर १५ भित्र गरि सक्नुपर्नेछ । कुनै विषेश कारणवस समय मै सम्पन्न गर्न नसक्ने क्लवको हकमा गभर्नरको उपस्थिती नरहने र उक्त पदस्थापना कार्यक्रम डिष्ट्रिक्ट गभर्नरले तोकेको पदस्थापन अधिकृत मार्फत पदस्थापन गराउन सकिनेछ ।

​२. पदस्थापना एकल क्लव वा संयुक्त रुपमा आफुले स्पोन्सर गरेको क्लब सहित जोन अथवा रिजन अन्तर्गतका क्लबहरु मिलेर संयुक्त रुपमा गर्न सकिनेछ ।

३. कार्यक्रममा खादा माला आवश्यकता अनुसार प्रयोग गर्न पाइने तर सेवा को कार्यक्रम गर्दा प्रयोग गरीने छैन ,तर पदभार ग्रहण तथा पदास्थापित हुने नयाँ अध्यक्षज्यूहरुलाई तथा नयाँ सदस्यहरुलाई र चाटर्ड डे वा नाइट कार्यक्रममा क्लबका चाटर्ड सदस्यहरुलाई र लायन्स भन्दा बाहिरका अतिथिहरुलाई स्वागत सम्मान गर्न आवश्यकतानुसार प्रयोगमा ल्याउन सकिने छ ।

४. पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्षले ५ मिनेट वर्तमान अध्यक्षले ५ मिनेट क्याविनेट पदाधिकारीले ३ मिनेट, लायन्स लिडर्सले ५ मिनेट तथा डिष्ट्रिक्ट गर्भनरले पदस्थापन गर्न एकल क्लबको कार्यक्रम २५ मिनेट, जोन अन्तर्गत ३५ मिनेट, रिजन अन्तर्गत ४५ मिनेट र सफत ग्रहणको लागि तोकिएको लिडरले १० मिनेट भित्र आफ्नो भनाई राखि सक्नु पर्नेछ ।

​५. डिष्ट्रिक्ट तथा क्लवका सवै कार्यक्रमहरु निर्धारित तालिका अनुसार समयमै सुरु गर्ने र समयमै सम्पन्न गर्नुपर्नेछ ।

​६. कार्यक्रमहरुको लागि निमन्त्रणा गर्दा अनिवार्य फेलोसिप समय कार्यक्रम सुरु हुने समय प्रष्टसंग उल्लेख गर्नुपर्नेछ ।

​७. हरेक कार्यक्रमहरूमा शुभकामना दिने वक्ताहरु प्रमुख अतिथि बाहेक दुई जना मात्र राखिनेछ । वक्ताहरुले आफ्नो भनाई बढिमा ५ मिनेट भित्र सक्नुपर्नेछ । यदि कुनै वक्तालाई कुनै विषय तोकिएको खण्डमा विषय वस्तुमा केन्द्रीत रहेर आफ्नो मन्तव्य प्रस्तुत गर्नुपर्नेछ ।

​८. स्वागत मन्तव्य राख्ने वक्ताले स्वगतसम्वन्धि कुराहरुमात्र र धन्यवाद ज्ञापन गर्ने वक्ताले धन्यवाद ज्ञापन मात्र गर्नु पर्नेछ ।

​९. अतिथिको परिचय गराउने वक्ताले अतिथिको परिचय मात्र गराउनु पर्नेछ । सकेसम्म छोटो मिठो परिचय प्रस्तुत गर्न निर्देशन जारी गरिएको छ ।

​१०. आसन ग्रहण र स्वागत मन्तब्यमा मर्यादाक्रम स्थापीत भैसकेको हुनेहुदा त्यस पछिका वक्ताहरुले सभापति, प्रमुख अतिथि तथा विशेष अतिथिलाई मात्र सम्बोदन गर्दै अन्य सम्बोधन यथोचित गर्नुपर्नेछ ।

​११. क्लव तथा डिष्ट्रिक्टका कार्यक्रमहरुमा (औपचारिक) अत्यावश्यक भएमा चियर गर्ने व्यक्ति र प्रमुख अतिथिले मात्र खादा माला प्रयोग गर्नेछन् ।

​१२. गैर लायन्स अतिथिहरुको लागि वाहेक लायन्स अतिथि तथा लायन सदस्यहरुको लागि कुनै पनि मायाको चिनो वा अन्य उपहारहरु पूर्ण रूपमा निषेध गरिएको छ ।

​१३. कार्यक्रमको प्रकृति अनुसार लायन्स तथा गैर-लायन्स (सामाजिक व्यक्तित्व) लाई अतिथि निमन्त्रणा गर्न सकिनेछ तर गैर लायन्स (सामाजीक व्यक्तित्वहरु) लाई अतिथि बनाउदा प्रोटोकल (मर्यादाक्रम) को विषयमा डिस्ट्रिक्टको क्याविनेट सेक्रेटरीसँग राय सल्लाह लिनुपर्नेछ ।

​१४. कुनै पनि क्लबमा २० जना भन्दा बढी सदस्यहरु स्थाई सदस्य वन्नु भएको छ भने उक्त क्लबले पर्मानेन्ट क्लबको मान्यता प्राप्त गर्नेछ । उक्त क्लबको स्थायी सदस्य वापतको सदस्यता शुल्क रकम रु. १०,००,००० (दस लाख) वा सो भन्दा बढी हुनु पर्नेछ । बाँकी सदस्य र नयाँ सदस्य थप गर्नुपर्ने भएमा दुबै सदस्यको लागि साधारण सदस्य सहित सदस्यताको लागि आमन्त्रण गर्न सकिने छ र उहाँहरुलाई समेत स्थायी सदस्य बन्नको लागि प्रेरित गरिनेछ ।

​१५. पर्मानेन्ट क्लबको फण्डको संचालनको विषयमा निर्णय गर्न क्लब आफू स्वतन्त्र छ तर उक्त रकमको सुरक्षाको ग्यारेन्टी हुने वातावरण क्लबले बनाउनु पर्नेछ । क्लबको पूर्ण बैठकमा छलफल र निर्णय गरी उक्त रकम उच्च व्याज प्राप्त गर्ने गरी व्यवस्थापन गर्नुपर्नेछ । पर्मानेन्ट क्लबको रकम व्यक्तिले प्रयोग गर्न पाइने छैन । उक्त रकम क्लबले संस्थागत हिसावमा राख्नुपर्नेछ । खाता संचालनको हकमा क्लबको बैठकको निर्णय अनुसार कार्यान्वयन गरिनेछ ।

​१६. क्लबको प्रोटोककलको विषयमा डिष्ट्रिक्टको विभिन्न पदहरुमा नामको वर्णानुक्रम अनुसार राखिएकोले सोही अनुसार आसनग्रहण गराउनु पर्ने र प्रमुख अतिथिको विषयमा कुनै समस्या रहेका क्याविनेट सेक्रेटरीलाई जानकारी गराई आवश्यक निर्देशन लिनु पर्नेछ ।

१७. सर्भिसका कार्यक्रमहरु आफ्नै डिस्ट्रिक्ट अन्तरगतका अन्य क्लवहरु, जोन, रिजन, एरिया अन्तरगत पर्ने क्लबहरुले संयुक्तरुपमा पनि गर्न सकिनेछ ।

​१८. सर्भिस कार्यक्रम वा अन्य कार्यक्रमहरु डिष्ट्रिक्टको कुनै पनि कार्यक्रमहरुसंग सकभर मिति नजुधाईकन गर्नुपर्नेछ ।

​१९. सर्भिसका कार्यक्रमहरुमा लायन सदस्यहरुले सर्भिस ज्याकेट लगाउनु पर्नेछ ।

​२०. सर्भिसका कार्यक्रमहरूमा औपचारिकता नगर्ने वा कम गर्ने तर हाम्रा औपचारिक प्रकृयाहरु अन्तर्गत उपस्थित सम्पूर्ण अतिथिहरुलाई सम्बोधन गर्दै आवश्यकता भए आशनग्रहण गराउने र आयोजक क्लबको तर्फबाट स्वागत गर्दै कार्यक्रम उद्घाटन गर्ने।

​२१. कार्यक्रम पश्चात व्यानर लगाएतका सामाग्री सार्वजनिक स्थलमा नछाड्ने ।

​२२. सेवा सम्बन्धी कार्यक्रमहरुमा सेवा दिँदा वा हस्तान्तरण गर्दा एकले अर्कोलाई छोएर धार्मिक दान गरेको जस्तै गरि व्यक्ति-व्यक्ति छोएर सामाग्री हस्तान्तरण नगर्ने तथा सेवा प्रदान नगर्ने त्यस्तो प्रकृतिको फोटो नखिच्ने तथा कसैले खिचेमा सामाजिक सञ्जाल वा रिपोटिङमा नराख्ने ।

२३. कसैलाई मानमर्दन हुने गरि दान-सामाग्रि हस्तान्तरण नगर्ने र त्यस्तो फोटोलाई सामाजिक सञ्जालमा पोष्ट नगर्ने ।

​२४. सर्भिस कार्यक्रममा सर्भिस पोषाक (लायन्सको लोगो अंकित ज्याकेट, टि-सर्ट, क्याप) प्रयोग गर्नको लागि प्रोत्साहन गर्ने ।

२५. औपचारिक कार्यक्रममा औपचारिक पोषाक र लायन्सको लोगो अंकित पिन अनिवार्य लगाउनु पर्ने ।

​२६. लायन्सको व्यानरमा औपचारिक कार्यक्रममा गङ ग्यावल र औपचारिक पोषाक विना कार्यक्रमको सभापतित्व नगर्ने ।

​२७. आयोजक वा डिस्ट्रिक्ट गभर्नरले मात्र लायन सदस्यहरुलाई सम्मान गर्ने ।

​२८. डिष्ट्रिक्ट गर्भनर पिन वा लायन्स पिनवाट सम्मान गर्न डिष्ट्रिक्ट गभर्नर वा अख्तियार प्राप्त लायन सदस्यले मात्र पाउने छन् ।

​२९. व्यक्तिगत हिसावले गरिने सम्मानलाई लायन्स क्लवको व्यानर वा औपचारिक फोरमलाई प्रयोग गरिने छैन ।

​३०. कुनै पनि औपचारिक कार्यक्रममा कुनै लायन सदस्यलाई सम्मान गर्नुपर्ने भएको खण्डमा सम्मानको लागि कार्यक्रम शुरु हुनु भन्दा अगावै जानकारी गराउनु पर्ने र यसरी गरिएको सिफारिसलाई सम्मान गर्न आवश्यक रहे नरहनेको सचिवालयले मुल्यांकन गर्दै निर्णय गर्नेछ ।

​३१. फेसबुक वा सामाजिक सञ्जालमा वास्तविक सेवाकार्य झल्कने किसिमका फोटोहरू राख्न प्रोत्साहन गर्ने गराउने ।

३२. डिष्ट्रिक्टका फेसवुक पेज, व्हाट्सएप ग्रुपहरु लगायतका सूचना तथा कार्यसम्पादनमा गर्ने मिडियाको सही तरिकाले प्रयोग गर्ने गराउने । सम्बन्धीत विषय वा व्यक्तिसँग सम्बन्धीत सूचना सोही समूहमा मात्र प्रशारित गर्ने अन्य समूहमा प्रशारण गर्न नपाईने । कुनै पनि सूचना वा जानकारी डिष्ट्रिक्ट सचिवालयको अनुमतिले मात्र समुहमा प्रशारित गर्न पाइने छ ।
​३३. सूचनाहरु प्रभाह गर्दा एक द्वार प्रणाली लागु गर्ने र गराइने छ।

३४. कुनैपनी औपचारिक तथा अनौपचारीक कार्यक्रममा संस्थागत हित हुने गरी र कसैको सम्मानमा आँच नआउनेगरी आफ्ना कुराहरु राख्नुपर्ने छ।
​यस लायन वर्षमा हालसम्म डिष्ट्रिक्टबाट विभिन्न मितिमा जारी गरिएका सूचना तथा निर्देशिका यथावत कायम गरिएको छ ।

समयसापेक्ष संशोधन तथा थप प्रस्तावित बुँदाहरू

३५.डिजिटल सञ्चार र ब्रान्डिङ
डिष्ट्रिक्ट तथा क्लबबाट जारी हुने आधिकारिक सूचना, निमन्त्रणा, पोस्टर, प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जालका सामग्रीहरू Lions International को ब्रान्ड गाइडलाइन तथा डिष्ट्रिक्ट सचिवालयको स्वीकृत ढाँचाअनुसार मात्र प्रकाशन तथा प्रसारण गरिनेछ।

३६.सामाजिक सञ्जालको जिम्मेवार प्रयोग
सामाजिक सञ्जालमा कुनै पनि व्यक्ति, क्लब वा डिष्ट्रिक्टको प्रतिष्ठामा आँच पुग्ने, विवाद सिर्जना गर्ने, अपुष्ट सूचना वा टिप्पणी सार्वजनिक गर्न पाइने छैन। गुनासा वा असहमति सम्बन्धित संयन्त्रमार्फत समाधान गरिनेछ।

३७.सेवा कार्यको प्रभावकारी अभिलेखीकरण
प्रत्येक सेवा कार्यक्रमको तथ्यांक, फोटो, भिडियो तथा प्रतिवेदन समयमै Lions Portal तथा डिष्ट्रिक्टले तोकेको माध्यममा अद्यावधिक गरिनेछ।

३८.वातावरणमैत्री कार्यक्रम
सम्भव भएसम्म प्लास्टिकजन्य एकपटक प्रयोग हुने सामग्रीको प्रयोग न्यूनीकरण गर्ने, डिजिटल निमन्त्रणा प्रयोग गर्ने तथा वातावरण संरक्षणलाई प्राथमिकता दिने।

३९.युवा तथा नयाँ सदस्यको सहभागिता
हरेक क्लबले नयाँ सदस्य, युवा सदस्य तथा महिलाको नेतृत्व विकास र सक्रिय सहभागितालाई प्राथमिकता दिनेछ।

४०.वित्तीय पारदर्शिता
क्लब तथा डिष्ट्रिक्टका सबै आर्थिक कारोबार पारदर्शी, अभिलेखयुक्त तथा सम्बन्धित विधान, नीति र कानुनअनुसार सञ्चालन गरिनेछ।

४१.मर्यादित सम्मान संस्कृति
सम्मान, मायाको चिनो वा उपहार आवश्यकताअनुसार सीमित, सादगीपूर्ण तथा संस्थागत गरिमाअनुकूल हुनेछ। सेवा नै सर्वोच्च सम्मान हो भन्ने संस्कृतिलाई प्रवर्द्धन गरिनेछ।

४२.बाल संरक्षण तथा सुरक्षित वातावरण
बालबालिका, महिला तथा सबै सहभागीका लागि सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सुनिश्चित गरिनेछ। सेवा कार्यक्रममा बाल संरक्षण सम्बन्धी प्रचलित नीति तथा कानुनको पालना गरिनेछ।

४३.आचारसंहिता पालना
लायन्स इन्टरनेशनलको संविधान, उपविधान, आचारसंहिता तथा डिष्ट्रिक्टबाट समय–समयमा जारी हुने नीति, निर्देशन र परिपत्र सबै सदस्य तथा क्लबले अनिवार्य रूपमा पालना गर्नेछन्।

४४.औपचारिक कार्यक्रम स्थलमा बसिरहेका बेला ड्यासमा बस्नुहुने तथा अग्रभागमा बस्नुहुने व्यक्तिहरूले अत्यावश्यक बाहेक मोबाइल फोन तथा साइडटकलाई कार्यलाई बन्द गर्नुहुनेछ ।

४५.औपचारिक कार्यक्रम चलिरहेको समयमा कार्यक्रम स्थलबाहिर भेला हुने वा दुई वा दुईभन्दा धेरै सदस्य जम्मा भएर अनावश्यक गफगाफ गर्ने तथा कार्यक्रम नसकिँदै कार्यक्रम स्थल छोडेर बाहिरिने कार्य गरिने छैन ।

४६.नीति संशोधन
समयको आवश्यकता, Lions International का नीति–निर्देशन तथा डिष्ट्रिक्टको हितलाई मध्यनजर गर्दै यी नीतिहरू आवश्यकतानुसार Advisory Council वा District Cabinet को निर्णयबाट संशोधन, थपघट वा परिमार्जन गर्न सकिनेछ।

माथि उल्लेखत १ देखि ४६ नम्बर सम्मका सम्पुर्ण बुँदाहरुमा उल्लेख गरिएका निती तथा निरदेशन पूर्णरुपमा कार्यान्वयन गर्नका लागी डिष्ट्रिक्टका सम्पुर्ण सदस्यहरुले आफुले पालना गर्ने तथा अरुलाई समेत पालना गर्नमा प्रेरित गर्ने भनिएको छ ।बैठकको अध्यक्षता प्रमुख सल्लाहकार लायन ॠषि गिरिले गर्नु भएको थियो ।