प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, काठमाडौंको टोखा रोडस्थित ‘मिठो झोल मःम’मा उपभोक्तालाई परोसिएको मःमभित्र कपाल भेटिएको आरोपपछि सम्बन्धित व्यवसायमाथि छानबिन र कानुनी कारबाहीको माग गरिएको छ।
पीडित पक्षका अनुसार मःमभित्र कपाल भेटिएपछि तत्काल पसल सञ्चालकको ध्यानाकर्षण गराइए पनि घटनालाई सामान्य भन्दै बेवास्ता गरिएको थियो। उपभोक्ताले स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा गम्भीर प्रश्न उठाउँदा सञ्चालकले ‘यस्तो कहिलेकाहीँ भइहाल्छ’ भन्दै प्रतिक्रिया दिएको र कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिँदा चुनौतीपूर्ण अभिव्यक्ति दिएको दाबी गरिएको छ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक बिदाका कारण तत्काल अनुगमन सम्भव नभए पनि सोमबारदेखि सम्बन्धित निकायसँग समन्वय गरी घटनाको छानबिन गरिने र दोषी पाइए कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ तथा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी कानुनअनुसार उपभोक्ताले स्वच्छ र सुरक्षित खाद्य पदार्थ उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ। खाद्य पदार्थमा कपाल वा अन्य दूषित वस्तु भेटिनु खाद्य स्वच्छताको गम्भीर उल्लङ्घन मानिने व्यवस्था छ।
यद्यपि, उक्त घटनाबारे सम्बन्धित रेष्टुरेन्टको आधिकारिक प्रतिक्रिया तथा सरकारी निकायको छानबिन प्रतिवेदन आउन बाँकी रहेकाले घटनाका सबै पक्षको औपचारिक पुष्टि हुन अझै बाँकी छ।