logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

सुनसरी घटनापछि गृहको कडा कदम, सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
सुनसरी घटनापछि गृहको कडा कदम, सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

काठमाडौं,  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित जिल्लामा कार्यरत प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ।

सीडीओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। साथै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइने भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने उनको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय भएको छ। यस्तै, सशस्त्र प्रहरी बलका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उनको ठाउँमा डीएसपी मदन नाथलाई पठाइएको छ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए। घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ, जसले एक साताभित्र प्रतिवेदन बुझाउनेछ।

घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।