प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
काठमाडौँ / नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था अझै सहज नभएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र त्यसका कारण नागरिकमा निराशा बढ्दै गएको बताए। सरकार असफल भए राष्ट्र नै गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिँदै उनले राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
प्रचण्डले नयाँ र पुरानाको बहसबीच जनताले आशा र विश्वासका साथ वर्तमान सरकारलाई बहुमत दिएको स्मरण गराउँदै सरकारका गतिविधिले त्यो विश्वासअनुसार परिणाम दिन नसकेको टिप्पणी गरे।
उनले सुकुम्बासी, ट्रेड युनियन, सीमा सुरक्षा लगायतका राष्ट्रिय महत्वका विषयमा जनचासो बढिरहेको उल्लेख गर्दै नागरिक पुरानाभन्दा पनि अवस्था बिग्रिने हो कि भन्ने चिन्तामा रहेको बताए।
देशमा भएका राम्रो कामको जस मात्र होइन, नराम्रा कामको जिम्मेवारी पनि राजनीतिक नेतृत्वले नै लिनुपर्ने प्रचण्डको भनाइ थियो।