प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
काठमाडौ / मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफललाई सकारात्मक र समस्याको समाधानतर्फ उन्मुख पहलका रूपमा लिएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले तराईका केही जिल्लामा पछिल्लो समय देखिएका समस्याबारे आफ्ना सुझाव प्रधानमन्त्रीसमक्ष राखिएको र प्रधानमन्त्री शाह त्यसप्रति संवेदनशील तथा प्रतिबद्ध देखिएको बताएका हुन्।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस केन्द्रित राजनीतिक दलसँग प्रधानमन्त्रीको यो पहिलो औपचारिक छलफल भएको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुआतको संज्ञा दिए। उनले तराईका समस्याहरू नयाँ नभएको भन्दै दीर्घकालीन समाधानका लागि ‘र्यापिड एक्सन टिम’ गठन, नियमित सुरक्षा ब्रिफिङ, सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा प्रभावकारी समन्वय गर्न सुझाव दिएको जानकारी दिए।
मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत विवाद साम्प्रदायिक तनावमा रूपान्तरण हुनु मुलुकका लागि गम्भीर चुनौती भएको बताउँदै दोषीमाथि कारबाही र प्रभावित क्षेत्रमा शान्ति कायम गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिएको बताए।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेससँग भएका सम्झौता कार्यान्वयन गर्न र सुनसरी घटनाको निष्पक्ष छानबिन गरी समयमै समाधान निकाल्न सरकारलाई सुझाव दिएको जानकारी दिए।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिर मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेताहरू सहभागी थिए।