logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

काभ्रे र इलाममा जलवायु–स्मार्ट कृषि प्रवर्द्धन गर्न नयाँ परियोजना सुरु

प्रभातफेरी अनलाइन६० पटक पढिएको | २०८३ श्रावण ४, सोमबार
काभ्रे र इलाममा जलवायु–स्मार्ट कृषि प्रवर्द्धन गर्न नयाँ परियोजना सुरु

काठमाडौं,  नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरणसम्बन्धी २४ महिने परियोजना औपचारिक रूपमा सुरु गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि प्रवर्द्धन, ग्रामीण जीविकोपार्जन सुधार तथा खाद्य र पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको हो।

चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फण्डको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले परियोजनाले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर सहयोग रहने बताए। एफएओकी निर्देशक हुआ याङले यो परियोजना दक्षिण–दक्षिण सहयोगको सफल नमुनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिन्।

काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा तथा बजार जानकारी उपलब्ध गराइनेछ।

परियोजनाले महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ। साथै, अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदानमार्फत स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।