प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
– रचना मोक्तान यात्री
म बुद्ध धर्म र बौद्ध दर्शनबारे केही जान्दिनथेँ। यसको गहिराइ बुझ्ने अवसर पनि पाएको थिइनँ। तर मेरो बाल्यकाल बुद्धप्रतिको श्रद्धा र गाउँको धार्मिक संस्कारबीच हुर्किएको थियो। होस सम्हालेदेखि नै घरको मूल कोठामा प्रतिष्ठापित बुद्धमूर्ति देख्दै आएको थिएँ। बिहान आमाले चोखो पानी चढाउनुहुन्थ्यो, साँझ मार्मे (दीप) बाल्नुहुन्थ्यो। त्यो केवल हाम्रो घरको दैनिकी मात्र थिएन, सिंगो गाउँकै संस्कार थियो। बुद्धप्रतिको श्रद्धा पुस्तौँदेखि त्यसरी नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको थियो। आज पनि त्यो परम्परा जीवित छ।
तर यही गाउँको शिरानमा महाकाल देवीको थान पनि थियो, जहाँ पशुबलि दिने चलन यथावत् थियो। आजसम्म पनि मेरो मनमा एउटा प्रश्न जीवित छ करुणा र अहिंसालाई जीवनको आधार मान्ने बौद्ध संस्कारमा हुर्किएका मानिसहरूले त्यही श्रद्धाका साथ किन पशुबलि दिन्छन्? त्यो प्रश्नको उत्तर मैले अझै पूर्ण रूपमा भेटेको छैन।
बाल्यकालको एउटा घटना अझै स्मृतिमा ताजै छ। एक दिन आमाले पूजा सामग्रीसँगै एउटा भाले र पोथी कुखुरा पेरुङ्गोमा राखेर मलाई पूजा लैजान भन्नुभयो। तर मेरो बालमनले त्यो स्वीकार्न सकेन। म ती निर्दोष जीवहरूलाई बलिको लागि लैजान तयार भइनँ। पेरुङ्गो त्यत्तिकै छोडेर अर्कैतिर भागेँ। त्यसबेला त्यो मेरो बालसुलभ जिद्दी मात्र थियो कि अहिंसाको कुनै अव्यक्त बीउ, आज आएर सम्झँदा छुट्याउन सक्दिनँ।
गाउँको पुच्छारमा एउटा पुरानो गोन्पा थियो। त्यो गोन्पा मेरो बाल्यकालको अर्को संसार थियो। वैशाख पूर्णिमा, दशमी र अन्य पवित्र तिथिहरूमा लामा गुरुहरूले त्यहाँ साङ पूजा गर्नुहुन्थ्यो। म तोर्मोको लागि चामल, फूल, अक्षेता र साङ लिएर गोन्पा पुग्थेँ। पूजा कति बुझ्थेँ, त्यो छुट्टै कुरा थियो; तर त्यहाँको वातावरणले मेरो मनलाई अद्भुत रूपमा तान्थ्यो।
लामा गुरुहरूले मन्त्र उच्चारण गर्दा ग्यालिङको मधुर धुन, डिल्बुको निनाद, ग्याबुबको ताल र अन्य धार्मिक वाद्यहरूको सम्मिलित स्वरले गोन्पाभरि एउटा अदृश्य शान्ति फैलिन्थ्यो। ती मन्त्रका शब्दहरू मैले बुझ्दिनथेँ, तर तिनको लयले मेरो मनलाई गहिरो रूपमा छुन्थ्यो। कहिलेकाहीँ लाग्थ्यो शब्द बुझ्नु भन्दा पनि अनुभूति ठूलो कुरा रहेछ। त्यसैले म पूजा बुझ्न होइन, त्यो शान्ति सुन्न गोन्पा पुग्थेँ।
सायद त्यहीँबाट बुद्धप्रतिको एउटा मौन श्रद्धा मेरो अन्तर्मनमा अंकुराएको थियो।
समयसँगै जीवनले अर्कै मोड लियो। समाज परिवर्तनको सपना बोकेको राजनीतिक आन्दोलनसँग मेरो जीवन गाँसियो। त्यसपछि मैले मार्क्स, एङ्गेल्स, लेनिन र माओका दर्शन पढ्ने अवसर पाएँ। इतिहासलाई वर्गसंघर्षको दृष्टिले हेर्न सिकेँ। धर्मलाई समाजको संरचना, विचारधारा र शक्तिसम्बन्धको सन्दर्भमा बुझ्न थालेँ। नास्तिकता र आस्तिकताबीचका वैचारिक भिन्नताहरू पनि क्रमशः स्पष्ट हुँदै गए।
त्यस समय म यस्ता मानिसहरूको बीचमा थिएँ, जसका लागि मूर्ति केवल निर्जीव ढुङ्गा वा धातुका आकृति थिए। उनीहरूको तर्क थियो मूर्तिपूजा अन्धविश्वास हो, र धर्म मानिसलाई वास्तविक परिवर्तनबाट टाढा राख्ने माध्यम हो। कार्ल मार्क्सको प्रसिद्ध भनाइ “धर्म जनताको अफिम हो” त्यस समय हाम्रो राजनीतिक प्रशिक्षणको एउटा महत्त्वपूर्ण विमर्श थियो। तर त्यो विचार सुन्दै र पढ्दै गर्दा पनि मेरो मनको गहिराइमा बुद्धप्रतिको श्रद्धा भने कहिल्यै मरेन।
सायद आस्था केवल तर्कले जन्मिने वा समाप्त हुने कुरा रहेनछ। कतिपय आस्थाहरू जीवनका अनुभव, संस्कार र अन्तःकरणको गहिराइमा बसेका हुन्छन्। मैले बुद्धमूर्तिलाई पूर्ण रूपमा बुझिसकेको थिइनँ, तर बुद्धप्रतिको सम्मान भने कहिल्यै हराएन।
यही कारण, युद्धको कठोर यात्रामा पनि म कुनै गोन्पा, माने, छ्योर्तेन वा बुद्धस्मारक देख्दा अनायासै मनमनै “ॐ मणि पद्मे हूँ” उच्चारण गर्थेँ। त्यो कसैले सिकाएको अभ्यास थिएन; त्यो मेरो अन्तर्मनबाट स्वतः निस्किने स्मरण थियो।
आज फर्केर हेर्दा लाग्छ सायद त्यही नै म भित्र जीवित रहेको बुद्धचित्तको पहिलो स्पन्दन थियो। वा सम्भवतः त्यो करुणाको त्यो बीउ थियो, जसलाई युद्धको कठोरताले पनि पूर्ण रूपमा सुकाउन सकेन।
युद्धमा लागेको मानिसले शान्तिको मन्त्र जपेर बस्न सक्दैन। युद्धको आफ्नै भाषा हुन्छ बारुदको गन्ध, बन्दुकको आवाज, मृत्युको सन्त्रास र अनिश्चित भोलिको प्रतीक्षा। तर युद्ध कहिल्यै मानिसको अन्तिम गन्तव्य हुँदैन। प्रत्येक युद्धको अन्त्यमा मानिसले खोज्ने कुरा फेरि पनि शान्ति नै हो। हामीले पनि बन्दुक उठाएको अन्ततः शान्तिपूर्ण र न्यायपूर्ण समाज निर्माण गर्ने विश्वासले नै थियो।
दश वर्ष लामो जनयुद्धका दिनहरूमा शान्ति केवल कल्पनाजस्तै लाग्थ्यो। जीवन बारुदको धुवाँसँगै उडिरहेको थियो। कहिले जंगल, कहिले पहाड, कहिले गाउँ, कहिले युद्धमोर्चा यात्रा निरन्तर थियो। मृत्यु र जीवनबीचको दूरी कहिलेकाहीँ एउटा गोलीको आवाज जति मात्र रहन्थ्यो।
त्यही युद्धविराम भएको तर औपचारिक शान्ति सम्झौता हुन बाँकी रहेको समयको एउटा घटना मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण मोड बन्यो।
हामी जनमुक्ति सेनाको एउटा टोली दोलखाको विगु पुगेका थियौँ। हिमाली चिसो हावा, हरियालीले ढाकिएका डाँडाकाँडा, सरल र सहयोगी शेर्पा जाति गाउँलेहरूको आत्मीयता । सबैले मनलाई अनौठो शान्ति दिइरहेका थिए। गाउँको बीचभागमा फैलिएको विशाल आनी गोन्पा टाढैबाट देखिन्थ्यो। त्यसलाई पहिलो पटक देख्दा नै मनमा एउटा अनौठो आकर्षण जाग्यो। लाग्थ्यो, त्यो भवनले शब्दबिनै शान्तिको भाषा बोलिरहेको छ।
हामी पाँच जना सुलोचना, रविन, कृतिका, इमान र म। आनीहरूको अनुमति लिएर गोन्पाभित्र प्रवेश गर्ने अवसर पायौँ।
गोन्पाको प्राङ्गणमा पाइला टेक्नेबित्तिकै मैले एउटा फरक संसार भेटेँ। चारैतिर सफाइ थियो। साङको सुगन्धले वातावरणलाई पवित्र बनाएको थियो। सेता छ्योर्तेनहरू यति निर्मल देखिन्थे कि छोए दाग लाग्ला जस्तो लाग्थ्यो। भगवानका मूर्तिसामु चढाइएका चोखा पानीका भाँडाहरू, ताजा फूलहरू, अक्षेताले भरिएका पूजा पात्रहरू सबै कुराले एउटा मौन साधनाको कथा सुनाइरहेका थिए।
सिँढी चढ्दै एउटा छ्योर्तेनबाट अर्को छ्योर्तेन पुग्दा मेरो मनमा अनौठो हलचल भइरहेको थियो। काँधमा बन्दुक थियो, तर मन शान्तितिर दौडिरहेको थियो। बाहिर म युद्धको एक योद्धा थिएँ, भित्र भने म आफैँसँग युद्ध गरिरहेको एउटा साधारण मानिस।
त्यो क्षण मेरो मनले पहिलो पटक मलाई प्रश्न गर्यो।
“के यो बन्दुकको बाटो नै मेरो अन्तिम बाटो हो?”
मसँग कुनै उत्तर थिएन ।
गोन्पाभित्र रहेका आनीहरूको अनुशासित जीवन, उनीहरूको सरलता, उनीहरूको कोमल बोली र शान्त अनुहारले मलाई गहिरो रूपमा छोयो। उनीहरू कोही मेरै उमेरका थिए। कोही म भन्दा पाका उमेरका । तर हाम्रो जीवनबीचको दूरी भने आकाश र जमिनजत्तिकै थियो।
उनीहरूको प्रत्येक शब्दमा करुणा थियो। प्रत्येक मुस्कानमा निर्मलता थियो। म आफ्नै बोली सम्झिन्थेँ कहिलेकाहीँ आदेशले भरिएको, कहिलेकाहीँ कठोर, कहिलेकाहीँ युद्धले रुखो बनाएको। उनीहरूको आवाज सुन्दा लाग्थ्यो, म बोलिरहेको होइन, सधैँ कसैसँग झगडा गरिरहेको रहेछु।
मैले साहस गरेर एउटी म भन्दा पाको उमेरको आनीलाई सोधेँ ।
“आनी, के म पनि तपाईंहरूजस्तै बन्न सक्छु?”
उहाँ मुस्कुराउनुभयो। त्यो मुस्कानमा उपहास थिएन, अहंकार थिएन; केवल करुणा थियो।
उहाँले शान्त स्वरमा भन्नुभयो।
“आनी बन्न चाहनु मात्र पर्याप्त हुँदैन। यसका लागि कठोर शील पालन गर्नुपर्छ। अनुशासनमा जीवन बिताउनुपर्छ। सांसारिक मोहबाट टाढा हुनुपर्छ। यदि यी सबै स्वीकार्न सक्नुहुन्छ भने, तपाईं मात्र होइन, जो–कोही पनि यो मार्गमा हिँड्न सक्छ।”
त्यो उत्तर छोटो थियो, तर त्यसले मेरो मनमा गहिरो छाप छोड्यो।
त्यही क्षण मैले पहिलो पटक बन्दुकभन्दा ठूलो शक्ति अनुशासन, करुणा र शीलमा रहेछ भन्ने अनुभूति गरेँ।
त्यो दिनदेखि मेरो अन्तर्मनमा एउटा अटल सङ्कल्प अंकुरायो। जीवनमा आनी बन्न सकूँ वा नसकूँ, एक दिन बुद्धमार्गमा भने अवश्य हिँड्नेछु।
त्यसपछि जनमुक्ति सेनाको टाटेपाटे पोसाकले मलाई पहिलेझैँ आकर्षित गर्न छोड्यो। बरु आनीहरूको कलेजी रङको वस्त्रमा मैले शान्तिको सौन्दर्य देख्न थालेँ। बन्दुक भन्दा प्रार्थना ठूलो लाग्न थाल्यो। युद्धभन्दा करुणा बलियो लाग्न थाल्यो।
सायद त्यो दिन नै मेरो बाहिरी यात्रा अझै युद्धतिर थियो, तर भित्री यात्रा बुद्धतर्फ सुरु भइसकेको थियो।
विगुको आनी गोन्पाबाट फर्किएपछि मेरो जीवन बाहिरबाट उस्तै थियो, तर भित्रबाट विस्तारै बदलिन थालेको थियो। परिवर्तन सधैँ एकै क्षणमा हुँदैन; कहिलेकाहीँ एउटा सानो अनुभूतिले मनको गहिराइमा बीउ रोपिदिन्छ, जसले समयसँगै विशाल वृक्षको रूप लिन्छ। मेरो जीवनमा बुद्धमार्गको बीउ त्यही दिन रोपिएको थियो।
त्यतिबेलासम्म बुद्ध, अवलोकितेश्वर (चेनग्रेसिक), गुरु रिन्पोछे वा अन्य बौद्ध प्रतिमाहरूलाई म एउटा कलात्मक, तर निर्जीव वस्तुभन्दा बढी ठान्दिनथेँ। यो मेरो व्यक्तिगत दोषभन्दा पनि मैले पाएको शिक्षा र वैचारिक परिवेशको प्रभाव थियो। कुनै पनि मानिसको दृष्टि उसले देखेको संसारले निर्माण गर्छ।
तर जब मैले लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको लुम्बिनी कलेज अफ बुद्धिज्म एण्ड हिमालयन स्टडिजमा स्नातकोत्तर तहमा बौद्ध दर्शन अध्ययन गर्ने अवसर पाएँ, तब मेरो दृष्टिकोण नै बदलिन थाल्यो।
मैले पहिलो पटक बुद्धका उपदेशहरूलाई अन्धविश्वासका रूपमा होइन, अनुभवमा आधारित जीवनदर्शनका रूपमा बुझ्न थालेँ। बुद्धले कसैलाई आँखामुख बन्द गरेर विश्वास गर्न भनेनन्; उहाँले त परीक्षण गर्न, बुझ्न र त्यसपछि मात्र स्वीकार गर्न सिकाउनुभयो। यही कारण बौद्ध दर्शनलाई धेरै विद्वानहरूले अनुभव र विवेकमा आधारित दर्शनका रूपमा व्याख्या गरेका छन्।
त्यसपछि मूर्तिप्रतिको मेरो बुझाइ पनि बदलियो। अब ती केवल ढुङ्गा वा धातुका आकृति रहेनन्। ती त करुणा, प्रज्ञा र जागरणका प्रतीक रहेछन्। प्राणप्रतिष्ठा गरिएका ती प्रतिमाहरूले केवल धर्मलाई होइन, श्रद्धा र नैतिक चेतनालाई पनि पुस्तौँसम्म जीवित राख्ने काम गर्दारहेछन्।
यस बुझाइसँगै धार्मिक अनुष्ठानहरूको अर्थ पनि विस्तारै खुल्दै गयो। मार्मे (दीप) प्रज्वलन, वाङ, लुङ, अभिषेक, पूजाआजा, मोन्लम, न्युङ्नेजस्ता साधनाहरू केवल धार्मिक कर्मकाण्ड होइनन्; ती आफ्नै मनलाई अनुशासन, करुणा र एकाग्रतामा अभ्यस्त बनाउने आध्यात्मिक अभ्यास रहेछन् भन्ने अनुभूति हुन थाल्यो।
त्यसपछि बुद्ध धर्मप्रतिको मेरो आस्था केवल विश्वासमा सीमित रहेन; त्यो अभ्यासमा रूपान्तरित हुन थाल्यो।
विक्रम संवत् २०८० को दशैँ मेरो जीवनको अर्को अविस्मरणीय अध्याय बन्यो। देशभरि मानिसहरू घर फर्किएर टीका, जमरा र परिवारको खुसी साटिरहेका थिए। मेरो मन भने गाउँ फर्कन उत्साहित भएन। मैले अर्को बाटो रोजेँ गुम्बाको बाटो।
म भक्तपुरको पाण्डुबजार हाइटमा रहेको उर्गेन साङ्गे छोइलिङ गुम्बा पुगेँ। त्यहाँ आयोजना गरिएको न्युङ्ने (སྨྱུང་གནས) व्रतमा सहभागी हुने निर्णय गरेँ। यो मेरो जीवनकै पहिलो कठोर धार्मिक साधना थियो।
करिब दुई सयजना उपासक–उपासिका तथा साधकहरूका बीच मैले पनि शील ग्रहण गरेँ। दशैँको सप्तमी, अष्टमी र नवमीसम्म खेन्पो ङावाङ होइसेरको निर्देशनमा मौनव्रत, ध्यान र न्युङ्नेको अभ्यास गरियो।
अनुष्ठानको आरम्भमा खेन्पो ङावाङ होइसेरज्यूले प्रवचन दिँदै भन्नुभयो “न्युङ्ने परम्पराको प्रारम्भ भिक्षुणी गेलोङ्मा पाल्मो (भिक्षुणी कमला) बाट भएको मानिन्छ। उहाँले कुष्ठरोगजस्तो असाध्य रोगसँग सङ्घर्ष गर्दै एघारमुखे आर्य अवलोकितेश्वरको कठोर साधना गर्नुभयो। त्यस साधनाबाट उहाँले महान् आध्यात्मिक उपलब्धि प्राप्त गर्नुभयो भन्ने विश्वास गरिन्छ।”
यी कुरा मैले यसअघि पुस्तकहरूमा पनि पढेको थिएँ। तर पुस्तकमा पढ्नु र साधनामा बसेर अनुभूति गर्नुबीच आकाश–जमिनको अन्तर रहेछ।
न्युङ्नेका प्रारम्भिक दिनहरू मेरा लागि अत्यन्त कठिन थिए। शरीरले भोक, प्यास र थकान अनुभव गरिरहेको थियो। मौन बस्नु, इन्द्रियलाई नियन्त्रण गर्नु, मनलाई एउटै बिन्दुमा टिकाइराख्नु यी सबै सजिला थिएनन्।
तर दिन बित्दै जाँदा मैले एउटा अनौठो परिवर्तन महसुस गर्न थालेँ। शरीर कमजोर हुँदै गइरहेको थियो, तर मन भने बलियो बन्दै थियो।
बाहिरी कोलाहल शान्त भएपछि मात्र मानिसले आफ्नै मनभित्रको आवाज सुन्न सक्दोरहेछ। मैले पहिलो पटक आफ्नै मनसँग यति लामो संवाद गर्ने अवसर पाएँ।
त्यही साधनाको क्रममा मैले गहिरोसँग अनुभव गरेँ।बुद्ध धर्म केवल आस्थाको विषय मात्र होइन; यो आफ्नै मनलाई बुझ्ने विज्ञान पनि हो। दुःख कहाँबाट उत्पन्न हुन्छ? तृष्णा किन जन्मिन्छ? क्रोध, लोभ, मोह र अहङ्कारले मनलाई कसरी बाँध्छ? यिनको उत्तर बाहिर होइन, आफ्नै चित्तभित्र खोज्नुपर्दोरहेछ।
त्यो अनुभूतिपछि बुद्ध मेरो लागि केवल इतिहासका एक महामानव रहेनन्। उहाँ मानव चेतनाको सम्भावनालाई उजागर गर्ने महान् मार्गदर्शक बन्नुभयो।
मलाई लाग्यो मैले बन्दुक समातेका वर्षहरूले संसारलाई बाहिरबाट बदल्ने सपना देखाएका थिए; तर बुद्धको मार्गले आफूलाई भित्रबाट बदल्ने बाटो देखायो। बाहिरको परिवर्तन स्थायी हुनुअघि मानिसको मन परिवर्तन हुनु आवश्यक रहेछ भन्ने सत्य म विस्तारै बुझ्दै थिएँ।
जब मैले बौद्ध इतिहास अध्ययन गर्न थालेँ, बुद्धको जीवन केवल एउटा धार्मिक आख्यान रहेन; मानव सभ्यताको एउटा जीवित इतिहास बन्न पुग्यो। शाक्यकुलमा जन्मिएका सिद्धार्थ गौतमले राजसी वैभव त्यागेर दुःखको कारण खोज्दै गरेको यात्राले मलाई बारम्बार आफ्नै जीवनतिर फर्किन बाध्य बनायो।
कक्षाकोठामा बुद्धको जन्मबारे पढ्दा मेरो मन अनायासै लुम्बिनी पुग्थ्यो। बोधिवृक्षमुनि सम्यक् सम्बोधि प्राप्त गरेको प्रसङ्ग आउँदा मन बोधगयामा पुग्थ्यो। पहिलो धर्मचक्र प्रवर्तनको चर्चा हुँदा सारनाथको मृगदाव आँखाअघि उभिन्थ्यो। महापरिनिर्वाणको प्रसङ्गमा मन कुशीनगरतिर डुल्थ्यो। त्यसैगरी राजगीरको गृद्धकूट पर्वत, बिम्बिसारले दान गरेको वेणुवन विहार, श्रावस्तीको जेतवन, वैशाली र सङ्किसाका नामहरू केवल पाठ्यपुस्तकका शीर्षक रहेनन्; ती मेरो अन्तर्मनका तीर्थस्थल बन्दै गए।
सुरुमा ती ठाउँहरूमा मेरो मन मात्र पुगेको थियो। तर समयले यस्तो अवसर पनि दियो, जहाँ मैले ती सबै पवित्र भूमिमा आफ्नै पाइला टेक्न पाएँ। विक्रम संवत् २०८० देखि २०८३ सम्मको अध्ययन यात्राले मलाई बुद्धसँग सम्बन्धित आठ प्रमुख तीर्थस्थलमा पुग्ने सौभाग्य प्रदान गर्यो।
पुस्तकमा पढेका ती स्थानहरूमा प्रत्यक्ष पुग्दा मैले इतिहासलाई केवल पढिनँ, अनुभव पनि गरेँ।
तीर्थस्थलहरूमा संसारका विभिन्न देशबाट आएका बौद्ध साधकहरू एउटै भावले ध्यान गरिरहेका देखिन्थे। कसैको भाषा बुझिँदैनथ्यो, तर सबैको प्रार्थनाको भाषा एउटै थियो करुणा। उनीहरूका अनुहारमा कुनै प्रदर्शन थिएन; केवल शान्ति थियो। मोन्लमका स्वरहरू हावामा घुलिरहँदा लाग्थ्यो, मानव जातिको सबैभन्दा ठूलो शक्ति बन्दुकमा होइन, करुणामा रहेछ।
बुद्धले प्रतिपादन गर्नुभएको चार आर्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतित्यसमुत्पाद, अनित्य र अनात्म का सिद्धान्तहरू मैले कक्षाकोठामा मात्र पढिनँ; जीवनसँग दाँजेर बुझ्न थालेँ। विस्तारै मैले महसुस गरेँ क्रोध, लोभ, मोह र अहङ्कारले सबैभन्दा पहिले आफ्नै मनलाई जलाउँदोरहेछ। अरूलाई जित्नु भन्दा आफ्नै चित्तलाई जित्नु कठिन रहेछ।
सम्राट अशोकको इतिहासले पनि मलाई गहिरो रूपमा छोयो। कलिङ्ग युद्धपछि लाखौँ मानिसको मृत्यु देखेर हिंसाको मार्ग त्यागी धर्ममार्ग अँगालेका अशोकले देखाए । मानिस बदलिन सक्छ। त्यस्तै, एक समय कुख्यात डाँकु अङ्गुलिमाल बुद्धको सान्निध्यमा करुणामय भिक्षु बन्न सके। यी इतिहासहरू पढ्दा मैले असम्भव भन्ने शब्दमाथिको विश्वास गुमाउँदै गएँ। यदि अशोक बदलिन सक्छन्, यदि अङ्गुलिमाल बदलिन सक्छन् भने, म लगायत कुनै पनि मानिस बदलिन सक्छ। सायद त्यसैले म आफैँलाई पनि नयाँ आँखाले हेर्न थालेँ।
कुनै समय युद्धलाई नै परिवर्तनको एकमात्र माध्यम ठानेकी म, आज करुणा र प्रज्ञालाई स्थायी परिवर्तनको आधार मान्न थालेकी छु। बन्दुकले सत्ता जित्न सक्ला, तर मानिसको मन जित्न सक्दैन भन्ने सत्य मैले बिस्तारै बुझ्दै गएँ।
मेरो जीवनमा यस्तो समय पनि आएको थियो, जब निराशाले मलाई आत्महत्याको किनारासम्म पुर्याएको थियो। जीवन अर्थहीन लाग्थ्यो। सबै बाटाहरू बन्द भएजस्ता लाग्थे। तर बौद्ध दर्शनले मलाई एउटा अत्यन्त गहिरो सत्य सिकायो। सबै संस्कार अनित्य छन्। दुःख पनि स्थायी छैन। सुख पनि स्थायी छैन। निराशा पनि स्थायी छैन। यही अनित्यको बोधले मलाई फेरि जीवनतर्फ फर्कायो।
मैले आफैँलाई प्रश्न गर्न थालेँ। जब सबै कुरा परिवर्तनशील छन् भने म किन क्रोधलाई स्थायी बनाऊँ? किन लोभ, द्वेष र घृणालाई मनमा पालेर आफैँ जलिरहूँ? किन अरूको दुःखमा खुसी मनाऊँ? किन क्षणिक अहङ्कारका लागि जीवनभर अशान्त रहूँ? यी प्रश्नहरूको उत्तर मैले बाहिर कतै भेटिनँ; आफ्नै चित्तमा भेटेँ।
बाल्यकालदेखि परिवारमाथि परेका पीडा, जनयुद्धका वर्षहरू, मृत्युका छायाँसँग बिताएका दिनहरू र त्यसपछि बुद्धमार्गमा पाइला चाल्दै आएको यो यात्राले आज मलाई एउटा नयाँ जीवनदृष्टि दिएको छ। यस यात्राले मलाई पूर्ण बनाएको दाबी म गर्दिनँ; तर यसले मलाई हिजोभन्दा धेरै विनम्र, धेरै धैर्यवान् र धेरै करुणामय बन्न सिकाएको छ।
आज म आफूले सिकेका केही कुरा अरूसँग बाँड्ने प्रयास गरिरहेकी छु। कतिपयले मेरो परिवर्तनलाई ढोंग भने, कतिपयले देखावाटी भने। तर ती शब्दहरूले मलाई कहिल्यै विचलित बनाएनन्। किनकि संसारले मलाई जति चिने पनि, सबैभन्दा गहिरोसँग चिन्ने मानिस म स्वयं हुँ।
आज म कुनै सिद्ध साधिका होइन। म अझै सिकिरहेकी एक साधारण यात्री हुँ। तर एउटा कुरा भने निश्चित रूपमा भन्न सक्छु। आगोको यात्राले मेरो शरीरलाई थकायो, बुद्धमार्गले मेरो चित्तलाई विश्राम दियो।
अब बाँकी जीवनमा मेरो एउटै कामना छ। मनमा करुणाको दीप कहिल्यै निभ्न नदिऊँ। बुद्धले देखाउनुभएको प्रज्ञा र मैत्रीको मार्गमा जति सकिन्छ, त्यति इमानदारीका साथ हिँडिरहूँ। यदि मेरो जीवनले कसैको दुःख अलिकति पनि हलुका बनाउन सक्यो भने, त्यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हुनेछ।
बुद्धं शरणं गच्छामि।
धम्मं शरणं गच्छामि।
सङ्घं शरणं गच्छामि।
यही शरणको भावले बाँकी जीवन उज्यालो बनोस आफ्नो लागि, अरूको लागि, र सम्पूर्ण प्राणीमात्रको कल्याणका लागि।