logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

यसै आर्थिक वर्षभित्र मेलम्ची–टिम्बु सडक कालोपत्रे हुने

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ श्रावण २०, बुधबार
यसै आर्थिक वर्षभित्र मेलम्ची–टिम्बु सडक कालोपत्रे हुने

सिन्धुपाल्चोक / मेलम्ची–टिम्बु सडक कालोपत्रे गर्ने प्रक्रिया यसै आर्थिक वर्षभित्र अगाडि बढ्ने भएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्ची बोर्डले चालु आर्थिक वर्षका लागि उक्त सडक कालोपत्रेका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ भने ठेक्का (टेन्डर) प्रक्रिया पनि छिट्टै सुरु गरिने जनाएका छन् ।

अध्यक्ष शेर्पाले पछिल्ला केही दिनदेखि मेलम्ची–टिम्बु सडक कालोपत्रे हुने विषयमा स्थानीयवासीले चासो व्यक्त गरिरहेको उल्लेख गर्दै यसअघि पनि चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी गराइसकेको बताएका छन् ।

उहाँका अनुसार २०७८ सालको विनाशकारी मेलम्ची बाढीका कारण सडक कालोपत्रेका लागि छुट्याइएको करिब ६०–७० करोड रुपैयाँ बाढीपछिको पुनर्निर्माण तथा क्षतिग्रस्त संरचनाको मर्मतमा खर्च गर्नुपरेकाले योजना समयमै कार्यान्वयन हुन सकेको थिएन ।

अब भने आवश्यक बजेट सुनिश्चित भइसकेकाले कालोपत्रे कार्य अघि बढ्ने उनले स्पष्ट पारे । साथै हेलम्बु क्षेत्रका सडक, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत अन्य पूर्वाधार तथा विकास योजनाका लागि पनि उल्लेखनीय बजेट व्यवस्था गरिएको जानकारी गराएका छन् ।

अध्यक्ष शेर्पाले हेलम्बुको समग्र विकासलाई गति दिन आवश्यक बजेट सुनिश्चित गर्न निरन्तर पहल भइरहेको उल्लेख गर्दै विकास निर्माणका योजनाहरू क्रमशः कार्यान्वयन हुँदै जाने बताए । साथै, यस योजनासम्बन्धी थप आधिकारिक जानकारी समय-समयमा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो ।