logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

धुलिखेल बजारमा संयुक्त अनुगमन : ३० पसल जाँच, ७ हजार बराबरका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण २०, बुधबार
धुलिखेल बजारमा संयुक्त अनुगमन : ३० पसल जाँच, ७ हजार बराबरका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

काभ्रे / काभ्रेपलाञ्चोकको धुलिखेल बजार क्षेत्रमा बुधबार सहायक प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल, धुलिखेल उद्योग वाणिज्य संघ, धुलिखेल होटल व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा नेपाल पत्रकार महासंघ काभ्रेका प्रतिनिधि सहभागी टोलीले सञ्जीवनी चोक, हस्पिटल चोक र मयुर बसपार्क क्षेत्रका होटल, किराना, फलफूल तथा खाद्यवस्तु बिक्री गर्ने पसलहरूको अनुगमन गरेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार अनुगमनका क्रममा २५ होटल, २ जुस पसल, २ किराना पसल र १ पाउँ भण्डार गरी ३० वटा व्यवसाय जाँच गरिएको थियो। यस क्रममा करिब ७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरिएको छ।

अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन भएका ५ वटा पसल फेला परेका छन्। साथै केही पसलमा म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखिएको र केही होटलका भान्सा फोहोर अवस्थामा रहेको उद्योग वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रविन घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार सम्बन्धित व्यवसायीलाई तत्काल गुणस्तर सुधार गर्न निर्देशन दिइएको छ। आगामी दिनमा ग्यास डिपो र पेट्रोल पम्पमा समेत अनुगमन गरिने तथा उपभोक्ता हित संरक्षणका लागि यस्ता संयुक्त बजार अनुगमन नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ।