प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
म्याग्दी / म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल निर्माण हुने भएको छ।
मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी म्याग्दी नदीमाथि पुल निर्माण गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि प्रक्रिया अघि बढाइएको हो।
यसअघि बेलिब्रिज निर्माणको योजना बने पनि सवारीसाधनको अत्यधिक चाप हुने सडकमा बेलिब्रिज जोखिमपूर्ण हुने प्राविधिक प्रतिवेदनपछि पक्की पुल निर्माण गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। प्रदेश सरकारले पुल निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको छ।
फापरखेतमा वर्षायाममा पटक–पटक पहिरो खस्दा बेनी–दरवाङ सडक अवरुद्ध हुने गरेको छ। साँघुरो सडक र निरन्तर खस्ने पहिरोका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ। पछिल्लो दुई महिनामै दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएका थिए।
फापरखेत पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका बासिन्दासहित बागलुङको तमानखोला क्षेत्रका नागरिकसमेत प्रभावित हुँदै आएका छन्। पुल निर्माण भएपछि पहिरोको जोखिमयुक्त क्षेत्रलाई छल्दै यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।