प्रभातफेरी अनलाइन३१ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काभ्रे / काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री बालेन शाहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नेतृत्वको सिफारिस समितिको सिफारिसमा बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बराल केयूमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा विज्ञता हासिल गरेका बरालले केयूमा विभिन्न इन्जिनियरिङ विषय अध्यापन गर्दै आएका छन्। उपकुलपतिका लागि ३५ जनाले आवेदन दिएकोमा १० जनाको छोटो सूची बनाएर प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको थियो।