logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

बिलबिजकबिनाका ११ किलोभन्दा बढी चाँदीका गरगहना बरामद

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
बिलबिजकबिनाका ११ किलोभन्दा बढी चाँदीका गरगहना बरामद

काभ्रे / काभ्रेको धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङबाट प्रहरीले बिलबिजक नभएका करिब ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान बरामद गरेको छ।

बिहीबार बिहान करिब १०ः३० बजे बीपी राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले मोरङतर्फबाट आएको को १ च ८६६२ नम्बरको सुमो रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोरङको उर्लाबारी नगरपालिका–६ का ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएको कार्टुनभित्र बिलबिजक नभएका चाँदीका विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामानमा पाउजु, औँठी, ब्रासलेट, पोतेमाला, जन्तर, झुम्का, कानका रिङ, खड्कुलो, बुलाकी, चुरा, सिक्रीलगायतका २१ प्रकारका सामान रहेका छन्।

मान्यता प्राप्त तराजुमा तौल गर्दा सामानको कुल तौल ११.६८२ किलोग्राम रहेको र यसको अन्दाजी मूल्य ४७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामानसहित सुमो गाडी, चालक मोरङ लेटाङ नगरपालिका–६ का ३६ वर्षीय पदमबहादुर विक र सामान ल्याउने गजमेरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय गौचरण, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।