प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र १, सोमबार
काठमाडौँ / पुनम पौडेलले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई निःशर्त रिहा गर्न सरकारसँग माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले श्रेष्ठ लामो समयदेखि सत्ताको निगरानीमा रहेको र अहिले एउटा उजुरीका आधारमा पक्राउ गरिएको दाबी गरेकी छन्।
उनका अनुसार श्रेष्ठलाई पक्राउ गर्नुका साथै पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी समाचार लेख्ने कम्प्युटरसमेत जफत गरिएको छ। साथै उहाँको मोबाइल फोन र इमेल आईडीसमेत जफत गरिएको पौडेलले उल्लेख गरेकी छन्।
पत्रिकामा प्रकाशित समाचारप्रति चित्त नबुझेमा सम्बन्धित सञ्चारमाध्यममै खण्डन प्रकाशित गर्ने र त्यसबाट पनि समाधान नभए प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्था रहेको स्मरण गराउँदै पौडेलले साइबर ब्युरोमा उजुरी परेको आधारमा पत्रकार पक्राउ पर्दै जाने हो भने प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्ने बताएकी छन्।
उनले पत्रकारलाई सोधपुछका लागि पक्राउ गर्नुपर्ने अवस्था भए पनि सञ्चारगृहमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खुल्न सक्ने सामग्री जफत गर्नु निन्दनीय रहेको बताएकी छन्। यस्तो अभ्यासले प्रेस स्वतन्त्रताका लागि गलत नजिर बस्ने र ‘काल पल्किएको’ संकेत देखिएको उनको भनाइ छ।
पौडेलले नेपाली सञ्चार क्षेत्रमा पछिल्लो समय प्रमाण र आधारबिना व्यक्तिमाथि आरोप लगाउने तथा सञ्चारमाध्यमबाटै आरोप र फैसला सुनाउने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसको आलोचना पनि गरेकी छन्। उनले विगतमा नेताहरूले आफूविरुद्ध समाचार प्रकाशित भएको भन्दै पत्रकार तथा सञ्चारकर्मीलाई पक्राउ गराउन नलागेको उदाहरण दिँदै प्रेस स्वतन्त्रता अरूका लागि मात्र नभई सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन्।
‘प्रेस स्वतन्त्रता अरूका लागि मात्रै होइन, मेरो आफ्नै लागि पनि हो’ भन्ने धारणा राख्दै उनले सरकार, राजनीतिक नेतृत्व र सम्बन्धित सबै पक्षलाई प्रेस स्वतन्त्रताको महत्वबारे समयमै सचेत हुन आग्रह गरेकी छन्।
पौडेलले अन्त्यमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई कुनै शर्तबिना तत्काल रिहा गर्न माग गर्दै अहिलेको घटनालाई केवल एक व्यक्तिको गिरफ्तारीका रूपमा मात्र नहेरी भविष्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पर्न सक्ने प्रभावका रूपमा बुझ्नुपर्ने बताएकी छन्।