प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र १, सोमबार
काठमाडौं / कलंकीबाट एक युवकलाई ट्याक्सीमा राखेर अपहरण गरी नागार्जुनमा बन्धक बनाएर कुटपिट गरिएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका नवीन रायलाई नागार्जुन नगरपालिका–५, छेग्डोलस्थित एक घरको भुइँतलाबाट उद्धार गरेको हो। प्रहरीले घटनास्थलबाट कुटपिटमा प्रयोग भएको पाइप, नाइलनको डोरी र चक्कुसमेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ छन्।
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार बुढाथोकी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुढाथोकी र ‘रोहित’ नाम गरेका भारतीय नागरिकबीच फेसबुकमार्फत सम्पर्क भएको र डलर कार्डमा रकम लोड गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको थियो। रोहितले डलरको भाउ बढी दिने भन्दै बुढाथोकीसँग सम्पर्क गरेको र सहयोगका लागि एक जना व्यक्ति पठाउने बताएपछि नवीन रायलाई भेट्न पठाइएको प्रहरीले जनाएको छ।
२८ साउन दिउँसो कलंकीस्थित भेटघाट क्याफेमा पुगेका रायलाई बुढाथोकीको समूहले ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोल पुर्याएको थियो। त्यहाँ रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर कुटपिट गरिएको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको हो।
घटनाबारे सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयअन्तर्गत अपहरण तथा गुण्डागर्दीसम्बन्धी अनुसन्धान गर्ने टोलीले कारबाही अघि बढाएको थियो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
सामाजिक सञ्जालमार्फत हुने अपरिचित व्यक्तिसँगको सम्पर्क, आर्थिक कारोबार तथा भेटघाटका क्रममा सावधानी अपनाउनुपर्ने आवश्यकता यस घटनाले फेरि देखाएको छ। सामान्य विवाद वा आर्थिक लेनदेनसमेत गम्भीर आपराधिक घटनामा परिणत हुन सक्ने भएकाले अपरिचित व्यक्तिसँगको सम्पर्क र सामाजिक सञ्जालको प्रयोगमा थप सजग रहन प्रहरीले समेत आग्रह गरेको छ।