प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र १, सोमबार
बेलडाँगी / भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (GCRPPB) को कोष सङ्कलनमार्फत जुटाइएको आर्थिक सहयोग भर्खरै रिहा भएका पूर्व भूटानी राजनीतिक बन्दी चतुरमान तामाङ र हस्तबहादुर राईलाई हस्तान्तरण गरिएको छ।
बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आयोजित कार्यक्रममा शिविरका सचिव सञ्चहाङ सुब्बाले दुवै जनालाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
जुलाई २०२६ मा सञ्चालन गरिएको कोष सङ्कलन अभियानमा ३३ जना दाताबाट १ हजार ४९२ युरो सङ्कलन भएको थियो। विभिन्न शुल्क कटौतीपछि प्राप्त २ लाख ४३ हजार ८०९ रुपैयाँ ५७ पैसा दुवै जनालाई बराबर बाँडिएको थियो। प्रत्येकले १ लाख २१ हजार ९०४ रुपैयाँ ७९ पैसा प्राप्त गरेका छन्।
तामाङलाई १७ फेब्रुअरी २००८ र राईलाई १८ फेब्रुअरी २००८ मा भुटानमा पक्राउ गरिएको थियो। उनीहरू दुवैले चामगाङ केन्द्रीय कारागारमा १८ वर्षभन्दा बढी समय बिताएपछि १ जुन २०२६ मा रिहा भएका थिए।
रिहाइपछि सीमित स्रोतसाधनका साथ बेलडाँगी फर्किएका उनीहरूलाई नयाँ जीवन सुरु गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको GCRPPB ले जनाएको छ।
कार्यक्रममा शिविरका पूर्व सचिव तथा शिविर नेता डिबी सुब्बा, अधिकारी कविराज मोङ्गरलगायतले तामाङ र राईलाई खदा ओढाएर स्वागत गरेका थिए। कार्यक्रममा भूटानी शरणार्थी समुदायका वरिष्ठ सदस्य तथा शुभचिन्तकहरूको उपस्थिति थियो।
GCRPPB क्याम्प संयोजक तथा पूर्व राजनीतिक बन्दी दिलकुमार राईले सहयोग गर्ने ३३ जना दाता तथा अभियानमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिए।
तामाङ र राईले पनि सहयोगका लागि दाता तथा समर्थकप्रति आभार व्यक्त गर्दै नयाँ जीवन सुरु गर्न यस सहयोगले महत्वपूर्ण हौसला मिलेको बताए।
सन् २०१९ मा भूटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि गठन भएको GCRPPB ले अझै कारागारमा रहेका राजनीतिक बन्दीहरूको सुरक्षित तथा शीघ्र रिहाइका लागि अभियान सञ्चालन गर्दै आएको जनाएको छ।