logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

महाभारत अध्यक्ष कञ्चनलाल जिम्बा ‘४० मुनिका ४० प्रभावशाली युवा–२०८३’ मा

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ श्रावण २८, बिहिबार
महाभारत अध्यक्ष कञ्चनलाल जिम्बा ‘४० मुनिका ४० प्रभावशाली युवा–२०८३’ मा

काभ्रे / जिल्लाको विकट भूगोलका रूपमा चिनिँदै आएको महाभारत गाउँपालिकाका अध्यक्ष कञ्चनलाल जिम्बा ‘४० मुनिका ४० प्रभावशाली युवा–२०८३’ को सूचीमा परेका छन्।

अनलाइनखबरले विगत तीन वर्षदेखि सार्वजनिक गर्दै आएको ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’को सूची अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सार्वजनिक गरिएको हो। १०० जना सामाजिक सञ्जालकर्ताको सिफारिस तथा पूर्वन्यायाधीशहरूको स्वतन्त्र मूल्याङ्कनका आधारमा समाजमा सकारात्मक प्रभाव पारिरहेका युवाहरू छनोट गरिएको आयोजकले जनाएको छ।

ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष जिम्बालाई अवार्ड प्रदान गरेका थिए। स्थानीय तहमा रहेर विकास, कृषि प्रवद्र्धन, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गरेको योगदानलाई उनको छनोटको प्रमुख आधार बनाइएको जनाइएको छ।

महाभारत गाउँपालिकाको नेतृत्व सम्हालेयता जिम्बाले सडक, विद्युतीकरण, खानेपानी, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा पूर्वाधार विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै आएका छन्।

विशेषगरी कृषि क्षेत्रको विकासमा गाउँपालिकाले कफी खेती प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ। स्थानीय किसानलाई उत्पादनतर्फ प्रोत्साहित गर्दै उनीहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले कफी खेती विस्तारमा जोड दिइएको गाउँपालिकाले जनाएको छ।

सुशासन र वित्तीय अनुशासनका क्षेत्रमा समेत महाभारत गाउँपालिकाले उदाहरण प्रस्तुत गरेको जनाइएको छ। महालेखा परीक्षकको कार्यालयबाट भएको लेखापरीक्षणमा गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्न सफल भएको गाउँपालिकाको दाबी छ।

विकट भूगोल, सीमित स्रोतसाधन र चुनौतीपूर्ण अवस्थाबीच स्थानीय सरकारमार्फत विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासका कारण जिम्बाको छनोटले दुर्गम क्षेत्रबाट भइरहेको सकारात्मक अभ्यासलाई राष्ट्रियस्तरमा समेत उजागर गरेको छ।

सम्मानपछि अध्यक्ष जिम्बाले आफूलाई ‘४० मुनिका ४० प्रभावशाली युवा’को सूचीमा छनोट गरी सम्मान गरेकोमा आयोजक, मूल्याङ्कन समिति तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे।

उनले सम्मानलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नलिई आगामी दिनमा अझ जिम्मेवार, प्रतिबद्ध र सकारात्मक भएर काम गर्ने प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताए।

‘यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, मलाई निरन्तर साथ, हौसला र प्रेरणा दिनुहुने परिवार, साथीभाइ, शुभेच्छुक तथा सम्पूर्ण समर्थकहरूको पनि सम्मान हो,’ जिम्बाले भने।

उनले प्राप्त सम्मानको गरिमा कायम राख्दै आगामी दिनमा समाज र राष्ट्रका लागि अझ अर्थपूर्ण, सकारात्मक र जिम्मेवार योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।