प्रभातफेरी अनलाइन६ पटक पढिएको | ३३ मिनेट अघि
काठमाडौं / गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकमा देखिएको आक्रोशलाई आफूले पूर्ण रूपमा महसुस गरेको बताएका छन्। घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
गृहमन्त्री गुरुङका अनुसार घटनाका आरोपितहरू पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी छ। पछिल्लो समय गरिमाका अभिभावकले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जनालाई पक्राउ गरिएको उनले बताएका छन्।
मृत्युदण्डको मागप्रति नागरिकको आक्रोश आफूले बुझे पनि नेपालको संविधानले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको उनले स्पष्ट पारे। अहिलेको प्राथमिकता प्रमाण सुरक्षित गर्दै निष्पक्ष र वैज्ञानिक अनुसन्धानमार्फत दोषीलाई उम्कन नदिने तथा निर्दोषलाई नफसाउने रहेको उनको भनाइ छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधमा विद्यमान कानुनी बाधा हटाउन आवश्यक कानून संशोधनको प्रक्रिया अघि बढाइएको बताएका छन्।
गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई अपुष्ट सूचना र ‘मिडिया ट्रायल’का आधारमा राजनीतिकरण नगर्न आग्रह गर्दै नागरिकको खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई आफ्नो प्रक्रियाअनुसार अघि बढ्न दिन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ—गरिमालाई न्याय।’ साथै यस्ता घटना दोहोरिन नदिन बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्दै हरेक छोरी सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।