logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

पीडाबीच पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
पीडाबीच पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

काठमाडौं / नेपाली समाजमा तीज महिलाले आफ्ना पीडा, भोगाइ र सामाजिक यथार्थलाई गीतमार्फत अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि स्थापित छ। यही सामाजिक यथार्थलाई प्रस्तुत गर्दै तीज गीत ‘नौ गेडी–२’ सार्वजनिक भएको छ।

उच्च अदालतका पूर्वन्यायाधीश तथा गीतकार भीमकुमार ओझाको शब्द, गायक–संगीतकार सन्तोष बीसीको लय, गायिका टीका सानुको स्वर तथा पूर्ण संयोगको संगीत संयोजनमा गीत तयार गरिएको हो। गीत तथा भिडियो ओझाकै Bhim Kumar Ojha YouTube च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यसअघि सार्वजनिक ‘नौ गेडी–१’ को निरन्तरताका रूपमा आएको ‘नौ गेडी–२’ मा बुहारीले परिवारभित्र भोग्ने मानसिक यातना, विभेद र हेपाइलाई कथामार्फत प्रस्तुत गरिएको छ। पीडाबीच पनि आफ्नी सानी छोरीप्रतिको मायाले जीवन अघि बढाउने साहस दिएको कथा गीतको मुख्य विषय बनेको छ।

भिडियोमा टीका सानुले बुहारीको भूमिका निर्वाह गरेकी छन् भने बालकलाकार रूबिका बास्कोटा छोरीको भूमिकामा देखिएकी छन्। सन्तोष बीसीले गैरजिम्मेवार श्रीमान्को भूमिका निभाएका छन्। त्यस्तै देवी ओझा सासु, आयुष्मा खत्री नन्द र लीला थापा जेठानीको भूमिकामा छन्। गीतकार भीमकुमार ओझा भने सहानुभूतिशील ससुराको भूमिकामा देखिएका छन्।

भिडियोले विवाहपछि बुहारीलाई परिवारको सदस्यभन्दा फरक रूपमा हेर्ने, मानसिक हिंसालाई संस्कारका नाममा सामान्य मान्ने तथा अन्धविश्वासका आधारमा महिलामाथि दोष थोपर्ने सामाजिक प्रवृत्तिमाथि प्रश्न उठाएको छ।

विशेषगरी बुहारी पनि कसैकी छोरी हुन् भन्ने सन्देशलाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ। पीडाले थिचिएकी आमालाई जीवनबाट हार्न नदिने शक्ति आफ्नै छोरीको माया बनेको कथा ‘नौ गेडी–२’ को सबैभन्दा मार्मिक पक्ष हो।

गीतले तीजको मनोरञ्जनसँगै महिला हिंसा, पारिवारिक संवेदनशीलता, मातृत्व र मानवीय व्यवहारबारे सोच्न बाध्य बनाउने सन्देश दिन खोजेको छ।

भिडियो :