logo
२०८३ भाद्र १४, आईतबार |
📰
🔍

रसुवामा रवि किरण हमालको खबरदारी : ‘उद्धारमा ढिलाइ नगरौँ, आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि ल्याऔँ’

प्रभातफेरी अनलाइन२८ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
रसुवामा रवि किरण हमालको खबरदारी : ‘उद्धारमा ढिलाइ नगरौँ, आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि ल्याऔँ’

रसुवा / बाढी गएको दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सक्रिय जेनजी अभियन्ता रवि किरण हमालले रसुवाको विपद् व्यवस्थापनलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

स्थानीय मेनाल्ड लामिछाने र साथी सचिनसहित खाद्यान्न तथा मेडिकल सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हमालले स्थलगत अवस्थाको अवलोकन गर्दै उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधि पर्याप्त नभएको बताएका छन्। उनले टनेलभित्र, खोलाको छेउ तथा विकट स्थानमा फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै आवश्यक परे तत्काल अन्तर्राष्ट्रिय सहयोग लिन र उच्च प्रविधिसहितका उद्धार उपकरण परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्।

हमालले विपद्को वास्तविक क्षतिको यकिन विवरण अझै स्पष्ट हुन नसकेको भन्दै ठूलो संख्यामा मानिस हराइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यस्तो अवस्थामा खोज तथा उद्धारलाई व्यापक र तीव्र बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ छ।

बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिक तथा जनावरका शव तत्काल व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। लामो समयसम्म शव तथा मृत जनावर व्यवस्थापन हुन नसके स्वास्थ्य संकट तथा संक्रामक रोग फैलिने जोखिम बढ्न सक्ने भन्दै उनले सम्बन्धित निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

राहत सामग्रीको व्यवस्थापन गरी स्थानीय सरकार, नागरिक, स्वयंसेवक तथा सामाजिक संघसंस्थालाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने हमालको सुझाव छ। प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पुर्‍याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गर्नुपर्ने उनले बताएका छन्।

त्यस्तै, तत्कालीन उद्धार र राहतसँगै बाढीका कारण विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि बृहत्तर योजना बनाउनुपर्ने हमालको भनाइ छ। घर, पूर्वाधार र जीविकोपार्जन गुमाएका परिवारलाई राहतमा मात्र सीमित नराखी आवास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासहित पुनःस्थापनाको समग्र योजना आवश्यक रहेको उनले बताएका छन्।

प्रभावित नागरिकसँगको संवादका क्रममा सरकारप्रति विभिन्न गुनासा आएको हमालले बताए। विशेषगरी सूचना प्रवाहमा कमजोरी तथा राहत–उद्धारमा अपनाइएको एकद्वार प्रणालीका कारण आवश्यक सहयोग समयमै नागरिकसम्म पुग्न नसकेको गुनासो स्थानीयबाट आएको उनले जानकारी दिए।

उनले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग तत्काल स्वीकार गरी अत्याधुनिक उद्धार प्रविधि भित्र्याउन, बेपत्ता नागरिकको खोजी तीव्र बनाउन, शव तथा मृत जनावरको व्यवस्थापन गर्न र सम्भावित स्वास्थ्य संकट रोक्न विशेष संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।

हमालले आफ्नो टोली प्रभावित नागरिकसँग निरन्तर संवादमा रहने र तत्काल राहतसँगै विस्थापित परिवारको पुनःस्थापना तथा दीर्घकालीन सहयोगका लागि योजनाबद्ध रूपमा काम गर्ने बताएका छन्।

उनको मुख्य जोड फसेका नागरिकको उद्धारमा ढिलाइ नगर्ने, आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि प्रयोग गर्ने, स्वास्थ्य संकट रोक्ने, राहतमा स्थानीय सरकार तथा नागरिकलाई परिचालन गर्ने र विस्थापित परिवारलाई सम्मानजनक रूपमा पुनःस्थापना गर्ने रहेको छ।