logo
२०८३ भाद्र १४, आईतबार |
📰
🔍

नेपाली विद्यार्थीलाई करियर मार्गदर्शन दिने ‘बुक योर काउन्सिलिङ’ प्लेटफर्म सञ्चालनमा

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
नेपाली विद्यार्थीलाई करियर मार्गदर्शन दिने ‘बुक योर काउन्सिलिङ’ प्लेटफर्म सञ्चालनमा

काठमाडौँ / नेपाली विद्यार्थीलाई शैक्षिक तथा करियर मार्गदर्शन प्रदान गर्ने डिजिटल प्लेटफर्म ‘बुक योर काउन्सिलिङ’ (BYC) औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

वेबपोइन्ट टेक्नोलोजीले शिक्षाविद्, प्रविधि क्षेत्रका नेतृत्वकर्ता तथा विभिन्न उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा BYC शुभारम्भ गरेको हो। हिमालय टेलिभिजनमा प्रसारण भएको आठ भागको ‘एआई एन्ड स्टार्टअप इरा’ टेलिभिजन श्रृंखलाको समापन समारोहसँगै प्लेटफर्मको शुभारम्भ गरिएको हो।

वेबपोइन्ट टेक्नोलोजीका प्रोजेक्ट तथा प्रोसेस प्रमुख सुविज्ञले नेपाली युवाले सूचना धेरै पाए पनि सही दिशा र स्पष्टताको अभावमा समस्या भोगिरहेको बताए। उनका अनुसार विद्यार्थीले साथीभाइको प्रभावमा विषय तथा करियर छनोट गर्दा समय र अवसर गुमाउने अवस्था रहेकाले विज्ञमार्फत सही मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले BYC सुरु गरिएको हो।

BYC ले विद्यार्थी र शिक्षण संस्थालाई लक्षित गरी दुई प्रकारका सेवा उपलब्ध गराउने जनाएको छ। विद्यार्थीका लागि उद्योगका विज्ञसँग प्रत्यक्ष परामर्शमार्फत विषय तथा करियर छनोट, व्यावसायिक सीभी निर्माण र मोक इन्टरभ्युसम्बन्धी सेवा उपलब्ध हुनेछ।

त्यस्तै, कलेज तथा शिक्षण संस्थाका लागि विद्यार्थीको क्षमता परीक्षण, विभिन्न क्षेत्रका विज्ञबाट वर्कसप तथा अन्तर्वार्ता तालिम सञ्चालन गरिनेछ। IT, व्यवस्थापन, स्वास्थ्य तथा इन्जिनियरिङलगायत क्षेत्रमा विज्ञको मार्गदर्शन उपलब्ध गराउने योजना रहेको जनाइएको छ।

कार्यक्रममा ‘द फ्याब शो’का संस्थापक तथा ‘साइक्लिङ साइन्टिस्ट’ डा. समिरमणि दीक्षितले प्रविधि र सञ्चारमाध्यमको प्रभावकारी प्रयोगमार्फत नेपाली विद्यार्थीलाई सही दिशा दिन सकिने बताए।

समारोहमा सगरमाथा इन्जिनियरिङ कलेज, प्राइम ग्रुप अफ कम्पनीज, आईएमएस कलेज, केडीबीसी, हिमालय टेलिभिजनलगायत विभिन्न शैक्षिक संस्था तथा उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ‘एआई एन्ड स्टार्टअप इरा’लाई सहयोग गर्ने Asterdio Inc., Charging Stations Nepal, Iron Park Gym, Leapfrog Connect, Northern Light Academy, Wiser Education र Strategic Advisors लगायतका साझेदार संस्थालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

BYC तथा वेबपोइन्ट टेक्नोलोजीका संस्थापक सोनम शेर्पाले BYC लाई केवल परामर्श सेवा नभई नेपाली युवाका लागि सफलताको ‘लन्चप्याड’ बनाउने लक्ष्य रहेको बताए। सही उमेर र समयमा सही मार्गदर्शन प्रदान गर्दै बेरोजगारी तथा दक्ष जनशक्तिको अभाव सम्बोधन गर्नु प्लेटफर्मको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

औपचारिक कार्यक्रमपछि नेटवर्किङ डिनरसहित समारोह सम्पन्न भएको थियो। BYC को सेवा अब bookyourcounselling.com मार्फत सर्वसाधारणका लागि उपलब्ध भएको जनाइएको छ।