logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

कोजाग्रत पूर्णिमा मनाइँदै, १५ दिन लामो बडादसैँ पर्व आजदेखि समापन

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
कोजाग्रत पूर्णिमा मनाइँदै, १५ दिन लामो बडादसैँ पर्व आजदेखि समापन

काठमाडौं / नेपालीहरूको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाएसँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेका मानिसका घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्नुहुन्छ। यही विश्वासका आधारमा आज साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेर यो पर्व मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ। यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम समाप्त हुन्छ। आजै जमरालाई नजिकका नदी, तलाउ तथा पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गर्ने परम्परा छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् बडादसैँ १५ दिनसम्म मनाइन्छ। नवरात्र र विजयादशमी सम्पन्न भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुने धार्मिक मान्यता छ। आज महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने परम्परा रहेको छ।

यसैगरी, कार्तिक स्नान, तुलसीको विशेष पूजा तथा आकाशदीपदान कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ।