प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
एजेन्सी / रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालले भोगेको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन सधैँ नेपाल तथा नेपाली जनताको साथमा रहने सन्देश दिएका छन्।
चीन सरकारको सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका हुन्।
राजदूत झाङका अनुसार बाढीमा ज्यान गुमाएका नेपालीप्रति राष्ट्रपति सी र प्रधानमन्त्री लीले श्रद्धाञ्जली अर्पण गर्दै नेपालप्रति सहानुभूति व्यक्त गरेका छन्। साथै, विपद्पछिको उद्धार तथा राहतमा चीनले आफ्नो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।
सो अवसरमा राजदूत झाङले प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारका तर्फबाट करिब ३० करोड रुपैयाँ बराबरको २० लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरे। यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको २ लाख अमेरिकी डलर पनि हस्तान्तरण गरिएको छ।