logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

भोटेकोशी बाढीले सिकाएको पाठ : अब जलवायु अनुकूल संरचना बनाउनुपर्छ

प्रभातफेरी अनलाइन४४ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
भोटेकोशी बाढीले सिकाएको पाठ : अब जलवायु अनुकूल संरचना बनाउनुपर्छ

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूल तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन्।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीसँगको छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जलवायुजन्य विपद्को सामना गर्न सक्ने र भौगोलिक अवस्थालाई समेत ध्यानमा राखेर पूर्वाधार निर्माण गर्नुपर्ने बताए।

भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै उनले देशका अन्य प्रमुख करिडोरमा पनि यस्तै प्रकृतिको बाढी आए ठूलो क्षति हुनसक्ने बताए।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरेर पूर्वाधार निर्माणको योजना बनाउनुपर्नेमा जोड दिए। आगामी दिनमा निर्माण हुने संरचनालाई ‘क्लाइमेट रेजिलेन्स’ अर्थात् जलवायुजन्य जोखिम सहन सक्ने बनाउनुपर्ने उनको भनाइ थियो।

विपद्का समयमा इप्पानले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले नीतिगत सुधार तथा ऊर्जा क्षेत्रका सम्भावनाको खोजीमा पनि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए।

उनले विपद्को समयमा सरकार र निजी क्षेत्र एकजुट भएर अघि बढेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनुपर्ने उल्लेख गरे। जलविद्युत् आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले निजी क्षेत्रसँग समेत समन्वय गरिरहेको उनले बताए।