प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडौं / रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत देशका विभिन्न जिल्लामा आएको फ्ल्यास फ्लडबाट उत्पन्न कठिन परिस्थितिमा एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ।
देश पुनःस्थापना तथा पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहेका बेला उक्त सहयोगमार्फत नेपाली जनतासँग ऐक्यबद्धता जनाइएको ग्रुपले जनाएको छ।
फ्ल्यास फ्लडबाट विभिन्न समुदायमा ठूलो क्षति पुगेको र प्रभावित परिवारको पुनःस्थापनाको यात्रा सहज नहुने भन्दै एमएडब्लु ग्रुपले तत्काल राहत तथा सहयोग आवश्यक रहेको जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको यो योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका प्रभावित परिवारलाई केही राहत पुग्ने ग्रुपको विश्वास छ।
एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए। उनले मानिसहरूले भोगेको पीडा कुनै पनि योगदानले मेटाउन नसक्ने भए पनि कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरे।
नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्लु ग्रुपले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको जनाएको छ।