logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

अग्रगामी मोर्चा गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्ने रणनीति, एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने तयारी

प्रभातफेरी अनलाइन३० पटक पढिएको | २०८३ भाद्र २२, सोमबार
अग्रगामी मोर्चा गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्ने रणनीति, एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने तयारी

सर्लाही / अग्रगामी मोर्चाले संगठनलाई गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्दै आगामी राजनीतिक गतिविधिलाई सशक्त बनाउने रणनीति तय गरेको छ। सर्लाही जिल्ला समन्वय कमिटीको बैठकले संगठन विस्तारसँगै आगामी राजनीतिक संघर्षलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।

मलङ्गवास्थित होटल दरबार इनमा जसपा नेपालका सर्लाही जिल्ला अध्यक्ष रन्धिर कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा मोर्चामा आबद्ध नौ राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो। बैठकमा पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बैठकले आगामी भदौ २७ गते जनकपुरधाममा हुने प्रदेशस्तरीय नेता–कार्यकर्ता अभिमुखीकरण तथा प्रदेश मोर्चा घोषणा कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने निर्णय गरेको छ। कार्यक्रममा सर्लाहीबाट ठूलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थक सहभागी गराउने तयारीसमेत गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, संविधान तथा समावेशितामाथि कुनै पनि प्रकारको आक्रमण स्वीकार्य नहुने बताउनुभयो। त्यस्तो प्रयास भए अग्रगामी मोर्चा प्रतिरोधको अग्रपंक्तिमा उभिने उहाँको दाबी थियो।

अन्सारीले मोर्चा तत्कालीन सत्ता स्वार्थ वा क्षणिक राजनीतिक समीकरणका लागि गठन नभएको स्पष्ट पार्दै जनताको अधिकार, समानता, सामाजिक न्याय र सुशासनका लागि दीर्घकालीन राजनीतिक संघर्ष गर्ने साझा मञ्चका रूपमा विकास गरिने बताउनुभयो।

उहाँले आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरूबीच थप एकता कायम गर्दै एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने दिशामा अघि बढ्ने जानकारी दिनुभयो। सडक संघर्षदेखि निर्वाचन र सरकारसम्म जनताको पक्षमा संयुक्त रूपमा काम गर्ने राजनीतिक शक्तिका रूपमा मोर्चालाई स्थापित गरिने उहाँको भनाइ थियो।

बैठकले सर्लाहीमा मोर्चाको संगठनलाई संसदीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका हुँदै वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ। साथै युवा, विद्यार्थी, किसान, महिला तथा बुद्धिजीवीलगायत विभिन्न समुदायलाई संगठित गर्न भ्रातृ तथा जनसंगठन निर्माण गर्ने निर्णयसमेत गरिएको छ।

अन्सारीले राजनीतिक, सामाजिक तथा आर्थिक रूपमा उत्पीडित समुदायलाई मोर्चाप्रति विश्वास गर्न आग्रह गर्दै जनताको राज्यसत्तामा सार्थक सहभागिता सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताउनुभयो।

भदौ २७ गते जनकपुरधाममा हुने प्रदेश मोर्चा घोषणा कार्यक्रमलाई सफल बनाउन मधेश प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाधीनता तथा जनअधिकारको संरक्षण र विस्तारलाई आफ्नो प्रमुख राजनीतिक आधार बनाउँदै संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरेको जनाएको छ।