logo
२०८३ भाद्र २३, मंगलबार |
📰
🔍

वैदिक शिक्षासँगै जीवनोपयोगी अभ्यास : पञ्चमहालक्ष्मीमा योग तथा साउन्ड हिलिङ प्रशिक्षण

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
वैदिक शिक्षासँगै जीवनोपयोगी अभ्यास : पञ्चमहालक्ष्मीमा योग तथा साउन्ड हिलिङ प्रशिक्षण

भक्तपुर / भक्तपुरको छालिङस्थित श्रीपञ्चमहालक्ष्मी श्रीपीठ, श्रीधाममा गुरुकुलमा अध्ययनरत बटुक, गुरु, आचार्य तथा सेवकलाई लक्षित गरी योग, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी विशेष प्रशिक्षण शिविर सम्पन्न भएको छ।

अनन्त श्रीविभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्व तथा श्रीपीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यको मार्गदर्शनमा आयोजित शिविरमा योगासन, प्राणायाम, ध्यान तथा ध्वनि चिकित्सा (साउन्ड हिलिङ) का विभिन्न अभ्यास गराइएको थियो। सहभागीलाई शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलनको महत्वबारे व्यावहारिक प्रशिक्षणसमेत दिइएको आयोजकले जनाएको छ।

स्वामी वासुदेव प्रपन्नाचार्यले वैदिक जीवनपद्धतिमा योग, ध्यान, अनुशासन, गुरुसेवा तथा आध्यात्मिक साधनाको महत्वलाई व्यवहारिक अभ्यासमार्फत बुझाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

उहाँले सनातन वैदिक परम्परामा योगलाई केवल शारीरिक व्यायामका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै शरीर, मन, प्राण र चेतनाबीच समन्वय कायम गरी आन्तरिक शान्ति र आत्मबोधतर्फ अघि बढ्न योगले सहयोग गर्ने बताउनुभयो।

“नयाँ पुस्तालाई योग, ध्यान, संस्कार र आध्यात्मिक जीवनपद्धतिसँग जोड्दै स्वस्थ तथा सन्तुलित जीवनशैलीतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक छन्,” उहाँले भन्नुभयो।

कार्यक्रममा हिमालयन वेलनेस फाउन्डेसन, नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुल तथा न्यू भिजन नेपालको सहकार्य रहेको थियो। योग तथा साउन्ड हिलिङ प्रशिक्षक योगाचार्य अशोक शर्मा भट्ट, सबनम खड्गी, रानु फुयेल र रूपक अर्यालले सहभागीलाई विभिन्न अभ्यास गराएका थिए।

योगाचार्य भट्टले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव र अशान्तिका बीच योग, ध्यान तथा आध्यात्मिक साधनाको आवश्यकता झनै बढेको बताउनुभयो। नयाँ पुस्तालाई यस्ता अभ्याससँग जोड्दै स्वस्थ र सन्तुलित जीवनशैलीतर्फ प्रेरित गर्न कार्यक्रम उपयोगी हुने उहाँको भनाइ छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, आध्यात्मिक जागरण, आत्मअनुशासन र समग्र जीवनशैली सुधारमा योगदान पुर्‍याउने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइनेछ।