प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
काठमाडौं / प्रा.डा. युवराज संग्रौला सामाजिक संजालमा लेख्नु हुन्छ :
मेरो यो सरकारसमक्ष अनुरोध छ: यो समाजको विग्रहमा सीमित मानिसको भूमिका छ। देशको ५८% पुँजी वा धन केवल १०% को अधीनमा छ। तल्लो आर्थिक समूहमा ५०% छन् र उनीहरूको हातमा जम्मा ४% पुँजी वा धन मात्र छ। यो वर्ग बाँच्नका लागि मात्र श्रम गर्छ र समाजका गतिविधिबाट पृथक् छ। बाँकी ४०% आर्थिक गतिविधिमा संलग्न किसान, व्यापारी, पेसाकर्मी आदि छन्; तर यो वर्गभित्र पनि १०–१५% बाहेक अधिकतम संख्या निम्न मध्यम वर्ग नै हो।
यो वर्गको त्यो १०–१५% एउटा समूह पूर्ण रूपमा बिचौलिया हो। यो आपराधिक प्रवृत्तिको छ र अनेक अपराधमा संलग्न छ। यो सिर्जनात्मक काम गर्न अयोग्य छ र हरेक किसिमका हिंसा तथा ठगीमा संलग्न हुन्छ। यो अनैतिक र अराजक छ। सामाजिक सञ्जालमा फोहोर गर्ने यही नै हो। यो सत्तामा जो छ उसकै नजिक हुन्छ। अहिले धेरैजसो यो प्रवृत्तिका मानिस रास्वपाका वरिपरि छन्, तर उनीहरूलाई दण्डबाट सुरक्षित राख्नका लागि मात्र। अतः
१. सामाजिक सञ्जाललाई कानुनको अधीनमा ल्याउनुहोस्। यही गतिमा सामाजिक सञ्जालमा घृणा, परपीडन र आत्मदम्भ (नार्सिसिजम) को भोटेकोसी कायम रह्यो भने नेपाल अपराधीहरूको देश बन्छ। यसलाई रोक्नुपर्छ।
२. सामाजिक सञ्जालमा अपराध गर्नेहरूका विरुद्ध प्रहरीको एउटा विशेष दस्ता बनाउनु आवश्यक छ। तत्काल कारबाही र सजाय गर्न प्रत्येक जिल्ला अदालतमा एउटा विशेष इजलास बनाएर गालीबेइज्जतीको अपराधमा सजाय गर्ने संक्षिप्त कार्यविधिको व्यवस्था गर्नुपर्छ। यसका लागि कानुन छ, केवल विशेष पुलिस र इजलास चाहिने हो। यो कठोर दायित्व (Strict Liability) को अपराध हो। यस्ता अपराधमा निर्दोषिता प्रमाणित गर्ने भार आरोपितकै हो।
३. सामाजिक सञ्जाललाई व्यवस्थापन गर्न ‘टेलिकम्युनिकेसन’ मा गेटवे राखी सूचना फिल्टर गर्ने, र फोहोर कुरा, गाली, घृणा तथा परपीडनलाई निषेध गर्नु जरुरी देखियो।
४. फेसबुक, टिकटकलगायतका आइडीहरू अनलाइन दर्ता निःशुल्क गर्ने र दर्ता नगरिएका आइडी गेटवेबाट रोकिने व्यवस्था गर्नुपर्छ।
५. अहिले पीडाको समयमा गालीगलौज गर्नेलाई खोजी–खोजी कारबाही गर्नुहोस्।
६. यस्ता मानिसका प्रोफाइल लक हुन्छन्, तस्बिर हुन्न, र अधिकांश रास्वपामा जोडिएको देखाउँछन्। तर यी मानिस तपाईँहरूका समर्थक होइनन्। यी अपराधबाट जोगिन रास्वपामा जोडिएका छन्। यस्तालाई फ्याँक्नुभएन भने यिनले नै तपाईँहरूलाई फ्याँक्नेछन्।
नेपालमा लोकतन्त्रको एउटा अव्यक्त संस्कार छ। यो देशका राजाले पनि हिजो संवैधानिक हैसियत स्वीकार गरे। कम्युनिस्टको शासन पनि स्वीकार गरे। उसबेला एमालेको सरकार बन्न दिए, माओवादीको सरकार पनि बन्न दिए। फ्याँकिएको पञ्चायती राप्रपालाई पनि मूलधारको राजनीतिमा रहन दिए। अहिले रास्वपालाई पनि सरकारमा स्वीकार गरे। यो लोकतन्त्रको अन्तर्यलाई जोगाउनु रास्वपाको दायित्व हो। अतः मानिसलाई सामाजिक सञ्जालको परपीडाबाट जोगाउनुहोस्।
प्लेग धेरैलाई एकैचोटि लाग्दैन; जब केहीलाई लाग्छ, त्यो महामारीका रूपमा फैलिन्छ। भाइरल हुने रोग, कुनामा बसेर परपीडा गर्ने अपराध, अश्लीलता फैलाएर पैसा कमाउने धन्दा, विरोधी राजनीतिको शिरोच्छेदन गर्ने प्रवृत्ति र समाजलाई नै फोहोर पार्ने रोगले समाज विघटन गर्छ। तर एउटा भनाइ छ— “केही सक्रिय अपराधीले होइन, चुपचाप बस्ने असल मानिसका कारणले समाज भत्किन्छ। अतः सामाजिक सञ्जालमा मानिसमाथि हुने परपीडामाथि प्रहार गर्नु सबैको कर्तव्य हो।”