प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल तथा नेताहरूलाई जेनजी आन्दोलनको अपमान नगर्न चेतावनी दिएका छन्।
जेनजी सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अझै पनि पुराना दलका नेताहरूले आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गरेर अपमान गरिरहेको भन्दै सचेत हुन आग्रह गरे।
उनले आन्दोलनको इतिहास कसैले चाहँदैमा परिवर्तन गर्न नसक्ने बताए। आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीको अपमान गर्नु सरह हुने उल्लेख गर्दै उनले भने, “सुध्रिनुस्, अझै समय छ।”
गुरुङले आफूहरू सत्ता र शक्तिको लोभमा नभई सुशासनको पक्षमा उभिन आन्दोलनमा सहभागी भएको दाबी गर्दै शान्तिपूर्ण आन्दोलनमाथि दमन गरी गोली चलाइएको बताए।