logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

रचना : दुर्गादाईसँगको संस्मरण र परिचयमा जनकवि दुर्गालाल श्रेष्ठ

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
रचना : दुर्गादाईसँगको संस्मरण र परिचयमा जनकवि दुर्गालाल श्रेष्ठ

क) दुर्गादाईसँगको संस्मरणः

मलाई मेरा कृष्णदाईले न्हैंकतला, काठमाडौंमा लगेर दुर्गादाईलाई चिनाइदिएको सम्झना आइरहन्छ । पछि म आफैं काठमाडौंमा काम विशेष जाँदा दुर्गादाईकहाँ पुग्ने र केहीक्षण बस्ने चलन चलाएको मलाई सधैं याद आइरहन्छ । साँखुका गिरीजाप्रसाद जोशी, भाषा आन्दोलनका हस्ती साहित्यकार प्रेमबहादुर कंसाकार, भाषाशास्त्री तथा साहित्यकार ईश्वरानन्द श्रेष्ठाचार्यज्यूहरुसँग पनि उहाँबाट नै चिनाजानी भएको स्मरण छ । वि.सं. २०२३ असार २७ मा नै ‘चुलिजाःगु स्वां’ (मेरो प्रकाशित पहिलो नेपालभाषा कवितासङ्ग्रह) मा उहाँले मलाई यस पुस्तकको भूमिकामा लेखिदिनुभएको  थियो – ‘दुवालज्यू, ‘चुलिजाःगु स्वां’ नं सूचं बिल– भोँदेशय हानँ छम्ह कविया जन्म जुलः / कविता मुखुनिसां परम्परा हाचं गाय्गु लगन ल्यायम्ह ज्वीधुंकूम्ह कवि ।’ (दुवालज्यू, ‘चुलिजाःगु स्वां’ ले सुचना दियो – बनेपामा फेरि एकजना कविको जन्म भयो । कविता कलिलो देखिए पनि परम्परा नाघ्न लगन पुर्याउन सफल कवि ।)
प्रगतिशील लेखक–कलाकार सङ्घ, केन्द्रीय समितिका उहाँ पनि संस्थापक सदस्य हुनुहुन्थ्यो । २०३६/०३७ मा गठित त्यस सङ्घमा उहाँसँग पारिजात, पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, जागृतप्रसाद भेटवाल र म आफू शरद बनेपाको नामले त्यस सङ्घमा सङ्गठित भएका थियौं । उक्त सङ्घमा ‘वेदना’ र ‘सङ्कल्प’ बाट प्रभावित दुई धारका प्रगतिशील लेखकहरु थियौं । दुई धारको द्वन्द्व प्रत्येक बैठकमा हुने गथ्र्यो । ‘वेदना’ धारको नेतृत्व पारिजातले गर्नुभएजस्तै ‘सङ्कल्प’ धारको नेतृत्व रघु पन्तले गर्नुहुन्थ्यो । दुई धारको भनाभन चल्दा उहाँ दुर्गादाई आँखा चिम्लिएर ‘किसी ल्वानाः घाँय् चुंदंथे’ (दुईटा हात्तीको द्वन्द्वले घाँस चकनाचूर भएजस्तो) भन्नुहुन्थ्यो ।
मलाई प्रशंसा दिनुभएर कवि बन्न प्रेरणा दिनुहुने कवि दुर्गालालले उक्त भूमिकामा ‘कविताको सपना तपाईंसँग छ÷ खबरदार ! आफू बिग्रनुपरे पनि उनको सपना बिगार्न पाइँदैन तपाईंले ।’ लेख्नुभएको सूचनाले मलाई सधैं झकझकाइदिने गर्छन् । त्यसैले मैले भन्नुपर्छ; उहाँ मेरा कविताका प्रिय गुरु पनि हुन् ।
सम्पर्क हुँदै गयो; दुर्गादाईको व्यवहारका साथै कविता पनि मन पर्दै गयो । भेटघाट गरिरह्यौं, न्ह्यायंकटोलबाट थवहिलमा सर्नुभएपछि पनि धेरै पटक उहाँकहाँ गइरह्यौं । आत्मीयता साटासाट भइरह्यो । म आफू पनि ‘जनमत’ मार्फत् साहित्यिक अभियानमा, प्रकाशनमा अझ जनमत मासिक पत्रिकामार्फत् सक्रिय भइरह्यौं । यसले पनि दुर्गालाल श्रेष्ठ कविसँग मेरो संसर्ग बढ्दै गयो । दुर्गादाईको कविता वाचन कला, कविताको माधुर्यताले देशभरका नेवारहरुलाई प्रभावित पारेर नेवार समुदायमा विशिष्ट कविका रुपमा परिचय छोड्न सफल रहेको सबैमा विदित भएकै हो । नेपालभाषाका कवि भनेर चिनाउन पाउँदा गौरव मान्ने कवि दुर्गालालका नेपाली भाषाका जीवन्त कविताहरुको सङ्ग्रह ‘फूल तिम्रै बारीको’ २०५७ मा जनमत प्रकाशनबाट प्रकाशित भई २०५७ चैत्रमा ‘तपक’ कवितासङ्ग्रहको समेत सार्वजनिकरण नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्न पाएको कार्यक्रमको सम्झना सधैं आइरहन्छ । वि.सं. २०६१ चैत्रमा दुर्गालाल श्रेष्ठलाई नेपालका विशेष कविका रुपमा ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ बाट जनमतले बनेपामा सम्मान गर्ने मौका पनि प्राप्त भएको हो । कार्यक्रमहरुमा उहाँसँग भेटिरहने गर्छु, घरमा पनि पुगिरहने गर्छु तर पछि विडम्वना नै भन्नुपर्छ कवि दुर्गालाल श्रेष्ठलाई बुढानीलकण्ठमा गएर भेट्ने इच्छा हुँदाहुँदै भेट गर्न सकिएन – धेरै दुःख लागेको छ । अवसान भएको खवर छोरी सिर्जनाले दिएको क्षण मेरा निम्ति कष्टप्रद रह्यो ।

ख) परिचयमा जनकवि दुर्गालाल श्रेष्ठ :

ऊ त मर्यो, तर लाग्छ मलाई
निष्ठा कहिल्यै मर्दैन,
यति पनि नभए यो छातीमा,
मैले मर्नै पर्दैन ।
– दुर्गालाल श्रेष्ठ
जीवनका क्षणहरू/ कवितामा घुलमिल गर्दै/कवितामा नै जीवन सोचेर/ कवितामा नै मान्छेका मर्महरू फुकाएर/कवि जस्तै कविता गुनगुनाइरहने कवि हुन् – दुर्गालाल श्रेष्ठ ।
दुर्गालाल कवि आफूलाई सधैं कवितामा खोज्छन्, कवितामा नै देश, समाज र जनताका मर्म खोतल्छन् र उनका कविताहरू सबै–सबैका मन र आँखाहरूमा जीवन्त छन् । आठ दशकअघिदेखि नै आफूमाथि भए गरेका हेला, अपमान विरूद्ध कवितामार्फत् आक्रोश पोख्दै कवितामा जीवन पछ्याउँदै आएका दुर्गालाल ख्वःबिलु (रून्चे) को जन्म वि.सं. १९९२ साउन महिना कृष्णएकादशीमा पिता गणेशलाल श्रेष्ठ र माता आशामोती श्रेष्ठको कोखबाट थँबहील, झ्वाः पुखु, काठमाडौंमा भएको हो । आफूभित्रको ईश्वरको स्पर्श निम्ति कवितामार्फत् नै प्रयत्न गरिरहने कवि दुर्गालालले नमरून्जेल कलमै लिएर हिँड्ने आफ्ना भविष्यको इच्छा रहेको बताउने गर्छन् । कवि जस्तै देखिने, कविताकै शैलीमा बोल्न मन पराउने, कविता लय हालेर सुुनाउन मन पराउने कवि दुर्गालालका लागि कविता नै प्रिय क्षेत्र हुन गएको छ ।
सरलताका धनी कवि ÷  चेतनशील कवि दुर्गालाल श्रेष्ठ राष्ट्र र जनताकै एकजना काव्य विधाकै एकजना विशिष्ट हस्ताक्षर हुन् । उनका काव्य अनुभूतिमा अन्तर्लोकको मर्म, जनताका पीडा व्यथा र कथाहरू मार्मिक ढङ्गले सम्प्रेषित भएका छन् । त्यसैले उनका कविताहरू धेरैले पढ्न रूचाउँछन् । दुर्गालाल कविले देशको कथा र मान्छेको मर्म बुझेर सम्प्रेषित कविताहरू उनेर आफ्नो स्वरमा सुनाउँदा उनका कविताहरू सुनेर सबै स्रोताहरू छक्क पर्दछन् र उनको कविताभित्रको शक्ति गुनेर सबैले धन्य कवि भनी तारिफ गरेका थुप्रै प्रसङ्गहरु छन् । लय, छन्द र तालमा सुन्दर शैली र सुन्दर शब्द संयोजनकासाथ कविता कोर्न सिपालु कवि दुर्गालाल श्रेष्ठका किताबहरू नेपालभाषामा मात्र छैन नेपाली, हिन्दी र अङ्ग्रेजीमा पनि प्रकाशित छन् । दुर्गालाल कविलाई मनपर्ने विदेशी कविहरूमा शेली, वर्डसवर्थ, जोन किट्स, दिनकर, निराला र वचन हुन् भने स्वदेशी कविहरूमा योगवीरसिंह, लेखनाथ र सिद्धिचरण हुन् ।
कविताका पारखी कवितामा नै बोल्न र व्यवहार गर्न सिपालु कवि । कविजस्तै एकजना सुन्दर कवि दुर्गालाल कविले कवितामा पु¥याएर गएका समर्पण हेरेर भन्न मन लाग्छ, नेपालका कविहरूमध्ये यिनी पनि एकजना सफल कवि हुन् । नेपालभाषाका कवि भनेर चिनाउँदा गौरव मान्ने कवि दुर्गालालका जीवन्त कविताहरू कुनै पनि भाषामा लेखेका किन नहुन् ती त राष्ट्रकै सम्पत्ति हुन् । राम्रा फूलहरूको संरक्षण गर्ने काम मालीको हो । ढकमक्क फुलेका सुन्दर फूलहरूको संरक्षण नगर्दा बगैंचाको के शोभा रहन्छ र ? त्यसैले दुर्गालालका कविताहरू साहित्यिक वाटिकामा फुलेका फूलहरू हुन् ।
जीवन भन्नु नै यथार्थमा तीतामीठा कुराहरूको पोष्टकारी होइन र ? भनी जीवनको परिभाषा दिने कवि दुर्गालाल श्रेष्ठका नेपालभाषाका कवितासङ्ग्रहहरूमा १) झसुका (२०१३), २) लुँबुँ वहबुँ (२०१५), ३) लिसं (२०१६), ४) सर्गः सिबे नं. धरती नमिंग्वा (२०१८), ५) पीजा (२०२२), ६) जि स्वयम्भू त्वाथः (२०४३), ७) याकः फल्चा (२०४३), ८) उलिंचा बाखं थुलिंचा (२०४३), ९) इन्कलाबया पलाः सः (२०४८), १०) स्यू खः थ्व छगू तुङ्कोया (२०५४), ११) ग्वीनिला (२०५८), १२) सन्तया कुसा (२०५८), १३) थुंदीगु घाः इतिहासया (२०५९) हुन् । नेपाली भाषामा इन्कलाबको पदचाप (२०४८), इच्छाको सिमाना (२०५५), तपक (२०५७), फूल तिम्रै बारीको (२०५७), सन्तको छाता (२०५८) हुन् । त्यस्तै यिनका प्रकाशित गीतिनाट्यहरूमा १) निमन्त्रणा (२०५४), २) श्रीमती (२०२४), ३) सल छ्योँया बेला (२०२५), ४) बिहाँचुली (२०२६), ५) प्वाखँपिचा (२०४२) आदि रहेका छन् । नेपालभाषा परिषद्बाट ‘जनकवि’ उपाधिले (२०६०) मा नै सम्मानित भएका यिनी नेपाल प्रज्ञा प्रतिष्ठानका मानार्थ सदस्यका साथै जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत कवि हुन् ।
‘के लेख्छु ? तर लेख्छु ।’ उनको लेखाइ अन्तर्लोकको खोजीमा छ । कवितामा नै कविताको परिभाषा खोजेर उनी कविता कोर्ने गर्छन् । उनले कवितामा नै कवि/अकविको परिभाषा यसरी व्यक्त गरेका छन् :–
जतिकै सुन्दर काव्य रचे पनि 
कुण्ठित छ भने कविको मन 
हुन्छ प्रदुषित उसको निम्ति 
स्वर्गपुरीको नन्दन वन ।
              ००
कलम त्यही हो जसबाट यहाँ 
हार्दिकताको फुट्छ मुहान 
हुन्छ त्यही ब्रम्हाण्ड अडेको 
मानवताको शाश्वत मान । 
             ००
थिचिनेहरूको रोदन सुन्ने,
बुझ्ने जसको मन छैन, 
मनै भए पनि उसको त्यो मन 
सच्चा कविको मन हैन । 
                   ००
‘कवितामा मर्म हुनुपर्छ र थिचिनेहरूको व्यथा खुल्नुपर्छ’ उनी भन्ने गर्छन् । कविले यस्तै भावदृष्टि कवितामा व्यक्त गरेका छन् । वि.सं. २००४ सालदेखि निरन्तर लेखिरहेका कवि दुर्गालालले साहित्य र राजनीतिको सम्बन्धबारे यसरी आफ्नो विचार पोखेर गएका छन् – ‘साहित्य र राजनीति दुवै समाजका अङ्ग हुन् । राज्य चलाउने अधिकार राजनीतिज्ञको हातमा हुन्छ तापनि देश, काल, परिस्थितिअनुसार राजनीतिलाई हिँड्न बाध्य तुल्याउने अंकुश साहित्य हो । तसर्थ आफ्नो उच्चताप्रति सजग रहनु साहित्यकारहरूको दायित्व हो ।’
कवि दुर्गालालका कविताहरूमा मानवतावादी स्वर–स्पर्शहरू कविताका हरफहरूमा छाम्न पाइन्छ । पाक मिल्ने गरी बनाइएको भोजनझैँ उनका कविताहरू स्वादिला छन् । लेख्नु भनेको मन पोख्नु हो । आफ्ना सुन्दर सपनाहरूलाई छताछुल्ल हुन नदिन व्यवहारमा साहित्यकारले आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सक्नुपर्दछ भन्न मन पराउने कवि दुर्गालाल आफू सफल लेखक हुँ भन्न हिच्किचाउँछन् तर विषयवस्तुको प्रस्तुतिमा सफलताको निम्ति भरमार प्रयास गर्छन् ।
कवि दुर्गालाल श्रेष्ठले आफूलाई जे–जस्तो सम्झे तापनि आफूलाई जस्तो छु भनेर परिभाषामा राख्न चाहे तापनि उनका कविताका हरफहरूले उनलाई सफल कवि भनेर सबैले औंल्याउँछन् । कविकै दर्जामा सम्मान गर्छन् । कविमा पनि बहुसङ्ख्यक मानव मनलाई हँसखुस राख्न प्रयत्नरत कविका रूपमा राखेर सबैले नियाल्छन् । कवि दुर्गालाल युगको लागि मान्छेकै सम्वेदना लेख्ने सशक्त कविहरूकै कोटीमा राख्न सकिने सवल तथा सक्षम कवि हुन् । उनका कविताहरू सशक्त छन् । जीवनपर्यन्तसम्म नै यिनी कवितामा नै बाँचे र कविका रुपमा आफूलाई स्थापित तुल्याएर गएका छन् । ९३ वर्षसम्म बाँचेर कविताको अर्थ, बिम्ब र परिभाषा भनेर, कविता देखाएर यिनी गए । उनी सधैं नेपालभाषा साहित्यकै वृत्तमा रमेर नेपालभाषा र साहित्य उत्थानका लागि आफूलाई समर्पित तुल्याएर धन्य भएर गएका छन् । लाग्छ; यिनी आफूलाई युगकवि र जनकविका रुपमा स्थापित तुल्याएर गए । उनी कविप्रति मेरो मन–मनको श्रद्धाञ्जलि । जनमतको पनि अक्षर–अक्षरको श्रद्धाञ्जलि ।
०००