logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

अँध्यारोबीच झुल्किएको आशाको ‘एक झुल्को घाम’

प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
अँध्यारोबीच झुल्किएको आशाको ‘एक झुल्को घाम’

काठमाडौँ / कवि सूर्यप्रसाद लाकोजूको सातौँ कविता कृति एक झुल्को घाम सार्वजनिक भएको छ । मध्यपुर थिमिमा आयोजित विशेष समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कृति लोकार्पण गरेसँगै ‘एक झुल्को घाम’ औपचारिक रूपमा पाठक समक्ष पुगेको हो । लोकार्पण समारोह स्वयं पनि साहित्य र सिर्जनाको उत्सवजस्तै बनेको थियो । समीक्षक, सर्जक र साहित्यप्रेमीहरूको उपस्थितिमा कृतिका विविध पक्षमाथि विमर्श भयो, कविता वाचन भए र कवि लाकोजूको सिर्जनायात्रामाथि चर्चा गरियो ।

वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले पनि कृतिको शीर्षक आकर्षक रहेको उल्लेख गर्दै कवि लाकोजूको साहित्यिक सिर्जनाको प्रशंसा गरेका थिए । सोही समारोहमा उनले एक झुल्को घामलाई लिएर गीत समेत गुनगुनाएका थिए ।

लोकार्पण समारोहमा समालोचक तथा कार्यक्रमका विशिष्ट अतिथि डा. ज्ञानु अधिकारीले पुस्तकमाथि पाठकीय दृष्टिकोण राखिन् । उनले सङ्ग्रहमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षमाथि चर्चा गरेकी थिइन् । ‘एक झुल्को घाम’मा समाविष्ट कविताहरू कविको निजी भावना मात्र नभई सकारात्मक विचारका पक्षमा उभिनेहरूको साझा अभिव्यक्ति भएको विचार डा. ज्ञानू अधिकारी व्यक्त गरिन् ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि डा. रमेशचन्द्र अधिकारीले कवि सूर्य लाकोजूका बारेमा आफ्ना विचार पोखेका थिए । उनले कवि लाकोजू बहुआयामिक व्यक्तित्व भएको बताए । आफूहरुभन्दा उमेरमा सानै भए पनि कर्म भने ठूलो छ । साहित्यका विविध विधामा सफलतापूर्वक कलम चलाइरहेका सूर्य लाकोजू साहित्यिक पत्रकार तथा साहित्यिक अभियन्ता समेत भएको कुरा उनले मन्तव्यका क्रममा बताए ।

‘एक झुल्को घाम’—शीर्षक आफैँमा प्रतीकात्मक छ । जीवन सधैँ उज्यालो हुँदैन । सामाजिक विसङ्गति, राजनीतिक बेथिति, व्यक्तिगत पीडा, असन्तुष्टि र संघर्षले मानिसलाई कहिलेकाहीँ अँध्यारोमा पु¥याउँछ । तर त्यही अँध्यारोभित्र कतै न कतै आशाको एउटा किरण बाँकी रहन्छ । लाकोजूको कविता सङ्ग्रहले त्यही आशालाई ‘घाम’को प्रतीकमार्फत समातेको देखिन्छ । समारोहमा वक्ताहरुले यस्तै भावना पोखे ।

समारोह पुस्तकको लोकार्पणमा मात्र सीमित रहेन । एक झुल्को घामबाट कविहरुले कवितासमेत सुनाए । बुद्धिकृष्ण घो, ध्रुबकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रेहना मानन्धर नकर्मी, विनिता बज्राचार्यलगायतका कविहरूले ‘एक झुल्को घाम’बाट कविता वाचन गरे

कवि सूर्यप्रसाद लाकोजू घामप्रिय कवि हुन् । ‘एक झुल्को घाम’ कवि सूर्यप्रसाद लाकोजूको सातौँ कविता कृति हो । सातओटा कृतिमध्ये पाँचओटा कविता संग्रहका नाम घामबाट राखिएको छ । घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम, घामको पर्खाल आदि । तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएका छन् । कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद र कथालगायत विधामा उनको सक्रियता देखिन्छ । साहित्यिक पत्रकारितामा समेत लामो समयदेखि सक्रिय रहेका लाकोजूको सिर्जनायात्रा एउटै विधामा सीमित छैन ।