प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ भाद्र २६, शुक्रबार
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पाँचवटा विशेष प्याकेजमार्फत काम अघि बढाउन लागेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेज तयार गरी कार्यान्वयन अघि बढाइएको जानकारी दिए।
उनका अनुसार पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको छ। बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि अध्ययनसमेत भइसकेको उनले बताए।
दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई चलायमान बनाउन एक साताभित्र १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
त्यस्तै, निजी क्षेत्रको प्रवर्द्धन तथा पुनरुत्थानका लागि विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको भन्दै त्यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने बताए।
चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिष्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको अर्थमन्त्री वाग्लेले बताए।
पाँचौँ प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको उनले जानकारी दिए।
“अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,” उनले भने।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएको भन्दै प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याएर निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।