logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ कार्तिक १७, मंगलबार
सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौँ / सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंक (ADB) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय भएको छ। साथै, टर्कीको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ।

मन्त्रिपरिषद्ले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। साथै, मल नियन्त्रण आदेश, २०८३ पनि स्वीकृत गरेको छ।

यसैगरी, मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी लिन निवेदन दिने अवधि २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुङ्ग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।