प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी अघि बढाइरहेको बताएका छन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले जोखिमयुक्त हिमतालको पानी वैज्ञानिक विधिबाट घटाउने विषयमा विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिए। उनका अनुसार आवश्यक परे ‘ब्लास्टिङ’ लगायतका प्रविधि प्रयोग गरी पानीको सतह घटाउने विषयमा समेत छलफल भइरहेको छ।
“जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्नुपर्छ। आवश्यक तयारी पूरा भएपछि निर्णय लिनेछौँ,” उनले भने।
मन्त्री श्रेष्ठले जोखिमको मात्रा र अवस्थाको अध्ययनका आधारमा जलस्तर घटाउने निर्णय गरिने बताए। ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा यही वर्ष जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम अघि बढाइने उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन्। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चारवटा हिमताल अतिउच्च जोखिममा रहेका छन्।