logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

देखेर पनि नदेखेझैँ गरी हिँड्ने प्रधानमन्त्रीको कार्यशैली समस्याको जड : प्रचण्ड

प्रभातफेरी अनलाइन० पाठक संख्या | २४ मिनेट अघि
देखेर पनि नदेखेझैँ गरी हिँड्ने प्रधानमन्त्रीको कार्यशैली समस्याको जड : प्रचण्ड

​नुवाकोट/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको ‘एकलकाँटे र हेपाहा प्रवृत्ति’ नै अहिलेको मुख्य राष्ट्रिय समस्या बनेको आरोप लगाएका छन्।

​शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा नुवाकोट पुगेका संयोजक प्रचण्डले महाविपत्तिका बेला नागरिकको जीवन रक्षा, उद्धार र राहतमा सरकारले आवश्यक समन्वय तथा तत्परता नदेखाएको भन्दै आपत्ति जनाए। बाढी आएको सुरुवाती पाँच दिनसम्म सरकारको उपस्थिति नै नदेखिएको उनको दाबी थियो।

​विपद्को सामना गर्न नेपाली सेना तथा सुरक्षा निकायले प्रशंसनीय काम गरेको उल्लेख गर्दै उनले सेना एक्लैको प्रयासले मात्र यति ठूलो सङ्कट समाधान हुन नसक्ने बताए। प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल तथा सामाजिक संघ–संस्थालाई एकताबद्ध गरी समन्वय गर्ने प्रमुख दायित्व प्रधानमन्त्रीकै भए पनि नेतृत्वले सर्वदलीय संवाद र अनुभवीहरूसँग राय–परामर्श लिन नचाहेको उनले टिप्पणी गरे। ‘देखेर पनि नदेखेझैँ गरी हिँड्ने प्रधानमन्त्रीको कार्यशैली नै समस्याको जड हो,’ प्रचण्डले भने।

​यस्तै, सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि विज्ञहरूले सहयोग गर्न खोज्दा सरकारले घमण्ड देखाएर अस्वीकार गरेको र १० दिनपछि मात्र तिनै विज्ञलाई गुहार्नु राज्यको ठूलो कमजोरी (‘ब्लन्डर मिस्टेक’) भएको उनको भनाइ छ। ​अवलोकनपछि जिल्ला समन्वय समिति नुवाकोटद्वारा आयोजित सर्वपक्षीय बैठकमा सहभागी हुँदै संयोजक प्रचण्डले सत्ता र प्रतिपक्ष नभनी जनताको उद्धार, राहत तथा दिगो पुनर्स्थापनामा एकजुट हुन सबै पक्षसँग अपिल गरे।