logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

बाढीपीडितको सहयोगमा दुमो साकोस, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार ५५० रुपैयाँ

प्रभातफेरी अनलाइन४ पटक पढिएको | २२ मिनेट अघि
बाढीपीडितको सहयोगमा दुमो साकोस, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार ५५० रुपैयाँ

बनेपा / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–४, नाला, काभ्रेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ हजार ५ सय ५० सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण नागरिकले भोग्नुपरेको पीडा र संकटप्रति संवेदनशील हुँदै सहकारीले मानवीय सेवाभाव तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो। राष्ट्रिय वाणिज्य बैंक, बनेपा शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको बैंक भौचरमा उल्लेख छ। भौचरअनुसार २०८२/०५/२९ गते उक्त रकम सहयोग गरिएको हो।

दुमो साकोसका अध्यक्ष जीवन मंग्रातीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको बताए। उनले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा योगदान गरिएको जानकारी दिए।

अध्यक्ष मंग्रातीका अनुसार संस्थाले यसअघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पनि जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता भएकाहरू सकुशल भेटिऊन् भन्ने कामना पनि संस्थाले गरेको अध्यक्ष मंग्रातीले बताए।