प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
रसुवा / भोटेकोशीमा आएको विनाशकारी बाढीमा सशस्त्र प्रहरीका गोताखोर सई रमेश थापा आफैं बग्दा पनि आत्तिएनन्। वर्षौंदेखि सिकेको गोताखोरी सीप, अनुभव र संयम प्रयोग गर्दै उनले बाढीको बहावसँगै केही दूरी बगेपछि ठूलो ढुंगा समातेर आफूलाई सुरक्षित राख्न सफल भए।
भदौ १० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासि आएको भीषण बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो। मैलुङमा रहेको माथिल्लो त्रिशूली आयोजनाको सुरक्षाका लागि खटिएको २१ सदस्यीय टोलीको नेतृत्व रमेश थापाले गरिरहेका थिए।
बाढीको सूचना पाएलगत्तै थापाले आफ्ना सहकर्मी तथा आयोजनाका कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाउनुका साथै जोखिमबारे सम्बन्धित पक्षलाई जानकारी गराए। प्रारम्भिक चेतावनी प्रणाली सक्रिय गरी साइरनसमेत बजाइएको थियो।
आफ्नो टोलीका सदस्यहरूलाई सुरक्षित स्थानतर्फ पठाएपछि अन्तिममा निस्कने क्रममा करिब १० फिट अग्लो पर्खाल नाघ्दै गर्दा अचानक आएको बाढीको भेलले थापालाई समेत बगायो। हिलो, लेदो र ढुंगासहितको तीव्र बहावमा परे पनि उनले आत्तिएर संघर्ष गर्नुको सट्टा गोताखोरी तालिममा सिकेको सीप प्रयोग गरे।
केही समय सास रोकेर बाढीको बहावसँगै बगेका उनले आफ्नो शक्ति जोगाउँदै सुरक्षित ठाउँ खोजे। अन्ततः एउटा ठूलो ढुंगा समातेर आफूलाई रोक्न सफल भए।
“मलाई सबै कुरा याद छ। म डराइनँ। बाढी पार गर्छु भन्ने हिम्मत आइरह्यो,” थापाले त्यसबेलाको अवस्था सम्झिँदै बताएका छन्।
बाढीबाट बाहिरिएपछि पनि उनको उद्धार यात्रा रोकिएन। आफूलाई चोट लागेको र शरीरमा हिलो तथा पानी पसेर असहज अवस्था रहेकै बेला उनले अर्को व्यक्ति बाढीको भेलमा बग्दै आएको देखे। किनार नजिक पुगेका ती व्यक्तिलाई हात दिएर थापाले सुरक्षित बाहिर निकाले।
उद्धार गरिएका व्यक्ति बर्दियाका रामप्रसाद थारु थिए। भोटेकोशी क्षेत्रमा मजदुरका रूपमा कार्यरत थारुको टाउकोमा चोट लागेको थियो र शरीर हिलाम्य भएको थियो। थापाले उनलाई सुरक्षित स्थानमा पुर्याएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उद्धार गरिएको थियो।
थापाका अनुसार उक्त क्षण उनको जीवनकै सबैभन्दा भयावहमध्ये एक थियो। “कालको मुखबाट फुत्केर आइयो। तालिम नगरेको भए बाँचिँदैनथ्यो,” उनले भने।
पछि बाढीको बहाव झन् बढ्दै गएपछि थापा र अन्य सुरक्षाकर्मी उच्च भागमा पुगे। आसपासका पहरा खस्ने जोखिमसमेत रहेकाले उनीहरूले डाँडामा आश्रय लिए। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगे पनि अवतरण गर्ने पर्याप्त ठाउँ नभएपछि उनीहरूलाई हेलिकप्टरको बकेटमार्फत उद्धार गरिएको थियो। उनीहरू विदुर हुँदै काठमाडौं आइपुगेका थिए।
आफू बाँच्नु र एक मजदुरको ज्यान बचाउन सफल हुनु थापाका लागि खुसीको विषय भए पनि उनको मनमा अझै चिन्ता छ। उनको कमान्डमा रहेका चार जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। टोलीका सदस्यहरूलाई उनले बाढी आउनुअघि नै सुरक्षित स्थानतर्फ पठाइसकेकाले उनीहरू पनि सुरक्षित रहेको आशा थापाले गरेका छन्।
गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भएका कारण केही सुरक्षाकर्मी त्यतातर्फ पठाइएको र उनीहरू सुरक्षित रहेको बताइएको छ। त्यस्तै, एक सुरक्षाकर्मीकी छोरीलाई नियमित रगत आवश्यक पर्ने भएकाले भदौ १० गते बिहानै विदुर गएका सुरक्षाकर्मी पनि सुरक्षित रहेको जनाइएको छ।
करिब दुई दशकदेखि गोताखोरीमार्फत खोज तथा उद्धारमा सक्रिय थापाले यस अवधिमा पानीमुनि खोजी तथा उद्धारका थुप्रै कठिन अभियानमा सहभागिता जनाएका छन्। जीवित व्यक्तिको उद्धारदेखि विभिन्न घटनामा शव संकलनसम्मको अनुभव हासिल गरेका उनका लागि भोटेकोशीको बाढी सबैभन्दा भयावहमध्ये एक बनेको छ।
आफ्नै ज्यान जोखिममा परेको अवस्थामा पनि सीप, धैर्य र अनुभवको सहारामा बाढीबाट जोगिएर त्यसपछि बग्दै आएका मजदुरको समेत ज्यान बचाउने रमेश थापाको साहस विपद्का बेला उद्धारकर्मीको कर्तव्यबोध र संयमको उदाहरण बनेको छ।