प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / मुम्बईको औद्योगिक मजदुर बस्तीबाट सुरु भएको रेणु चन्दको राजनीतिक यात्रा आज नेपालको नीति निर्माण तहसम्म आइपुगेको छ। नेकपा नेतृ तथा राष्ट्रिय सभा सदस्य चन्दको जीवनमा मजदुर बस्तीको संघर्षदेखि सुदूरपश्चिमका विकट पहाडमा बिताएको समय र सशस्त्र द्वन्द्व हुँदै संसद्सम्मका अनेक उतारचढाव जोडिएका छन्।
चन्दको जन्म तथा बाल्यकाल भारतको मुम्बईस्थित औद्योगिक मजदुर बस्तीमा बित्यो। परिवारमा हिन्दी भाषा बोलिन्थ्यो र आर्थिक अवस्था कमजोर थियो। उनका बुवा गोपाल चन्द मजदुर आन्दोलन तथा वामपन्थी विचारसँग जोडिएपछि उनको जीवनशैली र सोचमा परिवर्तन आएको बताइन्छ। लेनिनका विचार तथा म्याक्सिम गोर्कीको ‘आमा’ लगायतका पुस्तकबाट प्रभावित उनका बुवाले छोरी रेणुलाई पनि राजनीतिक चेतनातर्फ प्रेरित गरे।
२०५० को दशकको अन्त्यतिर चन्द आफ्ना बुवाको प्रभावमा नेपाल आइन् र तत्कालीन माओवादी ‘जनयुद्ध’मा सहभागी भइन्। मुम्बईको समथर भूगोलबाट सुदूरपश्चिमका विकट पहाडमा पुगेकी उनलाई सुरुमा स्थानीय भूगोल र भाषा दुवै अपरिचित थिए। बैतडी पुगेपछि उनले स्थानीय जनतासँग घुलमिल हुन डोटेली भाषा सिकिन् र पछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय लवजमा समेत बोल्न सक्ने भइन्।
जनयुद्धका क्रममा रातको समयमा लामो दूरी हिँड्नुपर्ने भए पनि उनलाई राति कम देख्ने समस्या थियो। भीरपाखामा हिँड्दा जोखिम हुने भएपछि सहयोद्धाहरूले उनको नाडीमा गम्छा बाँधेर अगाडि हिँड्ने कमान्डरसँग जोड्ने गर्थे। युद्धकालका कठिन दिनहरूमा स्थानीय जनताले दिएको खाना र आश्रयले आफूहरूलाई टिकाएको चन्द बताउँछिन्।
शान्ति प्रक्रियापछि २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनको तयारी हुँदै गर्दा उनका बुवा ‘चन्दन सर’ बैतडीबाट उम्मेदवार बन्ने चर्चा थियो। तर मतदाता नामावलीमा उनको नाम नभेटिएपछि पार्टीले तत्काल रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि उनी संविधानसभा सदस्यमा निर्वाचित भइन्।
संविधानसभामा प्रवेश गर्दा औपचारिक कानुनी तथा संसदीय अनुभव नभए पनि चन्दले जनताको अधिकार, गणतन्त्र र महिलाको प्रतिनिधित्वका विषय उठाउँदै भूमिका निर्वाह गरिन्।
हाल राष्ट्रिय सभा सदस्य रहेकी चन्दले पुराना राजनीतिक दलसँगै नयाँ राजनीतिक शक्तिको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै आएकी छन्। सामाजिक सञ्जालमा देखिने गतिविधिभन्दा सरकार र संसद् जनताप्रति पारदर्शी र जवाफदेही हुनुपर्ने तथा ठोस कानुन निर्माणमा केन्द्रित हुनुपर्ने उनको धारणा छ।
मुम्बईको मजदुर बस्तीबाट सुरु भएको उनको यात्रा आज नेपालको संसद्सम्म पुगेको छ। संघर्ष, राजनीतिक परिवर्तन र संसदीय यात्राका विभिन्न चरण पार गर्दै चन्दले नीति निर्माण तहमा भुइँतहका नागरिकका सवाल उठाउँदै आएकी छन्।