प्रभातफेरी अनलाइन९ पटक पढिएको | १६ मिनेट अघि
महोत्तरी / मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि तीन दिनसम्म मधेस प्रदेशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यसपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले सर्वसाधारणलाई पूर्वसतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि स्थानीय तह, रेडक्रस, सामाजिक संघसंस्था, प्रहरी तथा आमनागरिकलाई सचेत र तयारी अवस्थामा रहन आग्रह गरेका छन्।
उनले विगतमा जिल्लाका रातु, मडहा, बाँके, जङ्घा, बिग्ही र कुटमेश्वरीलगायत नदीमा आएको बाढी बस्तीमा पस्दा डुबान तथा जनधनको क्षति भएको स्मरण गर्दै विगतका घटनाबाट पाठ सिकेर पूर्वतयारी आवश्यक रहेको बताए।
प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन तथा विपद्को अवस्था आएमा सम्बन्धित निकायसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।