प्रभातफेरी अनलाइन३ पटक पढिएको | ३३ मिनेट अघि
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सांसदहरूले दिएका सुझावलाई ग्रहण गर्दै दफावार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताए।
मन्त्री वाग्लेले विद्यमान संरचनाले प्रणालीगत तरलतालगायत केही विषय सम्बोधन गर्न नसकेकाले अर्थतन्त्र सुधारको प्रयासस्वरूप विधेयक ल्याइएको स्पष्ट पारे।
छलफलमा सांसदहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा भित्रिनु सकारात्मक भए पनि त्यसबाट नेपालले प्राप्त गर्ने लाभ र कारोबारको सुरक्षाबारे स्पष्ट व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए।
सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि नियमावलीबमोजिम संशोधनको सूचना दिन सांसदहरूलाई जानकारी गराएका छन्। यस्तै, प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएकाले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री वाग्लेलाई कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयको पत्र पनि बैठकमा पढेर सुनाइएको छ। बैठक जारी छ।