प्रभातफेरी अनलाइन३ पटक पढिएको | ४८ मिनेट अघि
काठमाडौं / १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक गरिएको छ।
डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ।
‘हरे कृष्ण’मा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। खेमनाथ खनालको निर्देशनमा तयार भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर रहेको छ।
भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायतको अभिनय रहेको छ। भजन सार्वजनिक कार्यक्रममा सहभागी अतिथिहरूले ‘हरे कृष्ण’ले डा. उपाध्यायको सिर्जनात्मक व्यक्तित्वसँगै उहाँको आध्यात्मिक तथा भक्तिभावलाई समेत अभिव्यक्त गरेको धारणा राखेका थिए।
डा. उपाध्यायले साहित्य, गीत–संगीत तथा सिर्जनाका विभिन्न विधामा सक्रिय रहँदै नयाँ पुस्तामाझ मनोरञ्जनसँगै आध्यात्मिकता, सामाजिक चेतना र सकारात्मक सन्देश पुर्याउने उद्देश्यले सिर्जना गर्दै आएको बताउनुभयो।
गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय उहाँका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन्। उहाँका विभिन्न विधाका पुस्तक तथा उपन्याससमेत प्रकाशित छन्।
सिर्जनात्मक कर्ममार्फत विभिन्न विश्व कीर्तिमान कायम गरेको बताउने डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डलगायत विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गरेको उल्लेख गरिएको छ। उहाँका कीर्तिमानहरू विभिन्न सिर्जनात्मक प्रयोगसँग सम्बन्धित छन्।
प्रेम, समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनालगायत विविध विषयमा सिर्जना गर्दै आएका उपाध्यायले ‘हरे कृष्ण’लाई आफ्नो सिर्जनात्मक यात्राको पछिल्लो कडीका रूपमा प्रस्तुत गर्नुभएको छ।