प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
पाल्पा / पाल्पाका विभिन्न स्थानमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो। दुवै जनाको शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।
यसैगरी, माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा परिवारका दुई जना र छिमेकीकी एक छोरी गरी तीन जना बेपत्ता भएका छन्।
बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिएका छन्।