प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
चितवन / अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। बिहान ७ः५५ बजे पहिरो खसेकोमा दिउँसो १२ः१५ बजे सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
सडक सञ्चालनमा आएसँगै नारायणगढबाट पोखरातर्फ र पोखराबाट नारायणगढतर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।
यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। शीतलबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, हुग्दीखोला–जवाङखोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारालगायतका क्षेत्रमा पहिरो तथा सडक भासिने समस्या देखिएको छ।
सडक आयोजनाका अनुसार अवरुद्ध स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। ठूलो पहिरो नखसेमा साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पहिरो हटाउन सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत परिचालन गरिएको छ।