प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन २७, मंगलबार
एजेन्सी / पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। कराचीबाट पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरमा दुर्घटनामा परेको रेलवे प्रवक्ता कलीम अख्तरले जानकारी दिएका छन्।
उद्धारकर्ताहरूले रेलका १४ वटा डिब्बाबाट यात्रुलाई बाहिर निकालेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याएका छन्। दुर्घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले दुःख व्यक्त गर्दै घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
पाकिस्तानमा पुराना रेलमार्ग, जीर्ण सङ्केत प्रणाली र रेल क्षेत्रमा दशकौँदेखि पर्याप्त लगानी हुन नसक्दा यस्ता दुर्घटना हुने गरेका छन्। सन् २०२३ मा दक्षिणी पाकिस्तानमा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो भने ९० भन्दा बढी घाइते भएका थिए।