logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण, भारतको ७ प्रतिशत पुग्ने

प्रभातफेरी अनलाइन४ पटक पढिएको | १३ मिनेट अघि
चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण, भारतको ७ प्रतिशत पुग्ने

एजेन्सी / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने भारतको आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अनुमान गरेको छ। मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा आईएमएफले चीनको आर्थिक वृद्धिदरको अनुमान यसअघि जुलाईमा गरिएको प्रक्षेपणभन्दा ०.१ प्रतिशत बिन्दुले घटाएको हो।

मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि, घरेलु उपभोगमा सुस्तता र घरजग्गा क्षेत्रको निरन्तर सङ्कटले चीनको अर्थतन्त्रमा दबाब परेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२७ मा चीनको आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यद्यपि, सरकारी नीतिगत सहयोग तथा कृत्रिम बौद्धिकता (एआई) र विद्युतीय सवारीसाधनजस्ता उच्च प्रविधिका क्षेत्रमा भइरहेको प्रगतिले अर्थतन्त्रलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, भारतको आर्थिक वृद्धिदरको अनुमान ०.६ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पुर्‍याइएको छ। तीव्र आर्थिक गतिविधि, विस्तार हुँदै गएको घरेलु बजार, अनुकूल जनसांख्यिकीय अवस्था र संरचनात्मक सुधारले भारतको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने आईएमएफको निष्कर्ष छ।

प्रतिवेदनअनुसार यस वर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर ३.३ प्रतिशत र ताइवानको १०.७ प्रतिशत रहने अनुमान गरिएको छ। एआई चिपको विश्वव्यापी माग बढ्नुले यी अर्थतन्त्रलाई लाभ पुगेको छ। त्यस्तै, जापानको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।