logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

म्याग्दीमा सङ्घीय सरकारका तीन नयाँ कार्यालय स्थापना हुँदै

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ कार्तिक ११, मंगलबार
म्याग्दीमा सङ्घीय सरकारका तीन नयाँ कार्यालय स्थापना हुँदै

म्याग्दी / म्याग्दीमा पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन्। कार्यालय स्थापना भएपछि जिल्लामा विकास आयोजना छनोट तथा कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ।

जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाका कार्यालय स्थापना गर्न लागिएको हो।

स्थानीय पूर्वाधार विकास आयोजनाले म्याग्दी, बागलुङ र मुस्ताङमा काम गर्नेछ भने खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यक्षेत्र म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ रहनेछ। जलस्रोत तथा सिँचाइ आयोजनाले कालीगण्डकी नदी बेसिनका जिल्लामा काम गर्नेछ।

यसअघि तीनवटै कार्यालय पोखरामा रहेका थिए। आर्थिक वर्ष २०८२/८३ मा पोखरामा गाभिएको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको बेनीमा एकाइ मात्र सञ्चालनमा थियो भने अन्य दुई कार्यालय जिल्लामा थिएनन्।

सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी तथा सिँचाइसम्बन्धी योजना सञ्चालन गर्ने कार्यालय जिल्लामै भएपछि सेवा प्रवाह र विकास निर्माणका काममा सहजता हुने कार्यवाहक प्रमुख खत्रीले बताउनुभयो। उहाँका अनुसार तिहारअघि नै कार्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।