प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
सम्माननीय प्रधानमन्त्री शाहलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, माननीय गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल पुग्नुभएको थियो।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, माननीय परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकारसहित ३४ सदस्य सहभागी छन्। त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने जनाइएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार सम्माननीय प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते सम्माननीय प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। त्यसपछि भारतीय समकक्षी महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
सो अवसरमा सम्माननीय प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत रहेको छ।