प्रभातफेरी अनलाइन२३ पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने भएको छ। आगामी एक महिनाभित्र सेवा विस्तार गर्ने तयारी भएसँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा लिन पाउने भएका छन्।
भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौँरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकामा सेवा सञ्चालन गरिनेछ।
हाल जिल्लाका रोशी र भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाबाट यस्तो सेवा सञ्चालन हुँदै आएको छ।
सेवा विस्तारका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय तथा सहजीकरण गरिरहेको छ। यसका लागि कार्यालयले प्रत्येक स्थानीय तहमा सम्पर्क व्यक्ति समेत तोकेको छ।
कार्यालय प्रमुख सुवेदीले सेवा विस्तारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो। यससँगै नागरिकलाई भूमिसम्बन्धी प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।