प्रभातफेरी अनलाइन१९ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
काठमाडौं / चीन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिन कुमार आचार्यले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणका उपलब्धि र अनुभवबारे जानकारी गराउनुभएको छ।
नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङलगायतका प्रान्त तथा सहरको भ्रमणमा गएको महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर २६ मा नेपाल फर्किएको थियो।
भेटका क्रममा महामन्त्री आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराउनुभएको थियो। साथै, दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा भएको छलफलबारे पनि जानकारी गराउनुभयो।
भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन, अन्तरक्रिया र विपद्पूर्व तथा विपद्पश्चात्को तयारी एवं व्यवस्थापनसम्बन्धी अभ्यासबारे समेत छलफल भएको थियो।
यसैगरी, नेपाल–चीनबीच द्विपक्षीय सहकार्यका सम्भावनाबारे पनि संवाद भएको महामन्त्री आचार्यले बताउनुभयो।
भ्रमणका क्रममा प्राप्त अनुभव, ज्ञान र उच्चस्तरीय राजनीतिक संवादलाई पार्टीभित्र तथा देश विकासमा उपयोग हुने गरी कार्यान्वयन गर्न सभापति लामिछानेले भ्रमण टोलीलाई निर्देशन दिनुभएको छ।