प्रभातफेरी अनलाइन२३ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
धुलिखेल / होटल व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसको अवसरमा धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) मा आश्रय लिइरहेका ६५ जना ज्येष्ठ नागरिकलाई भोजन गराइएको छ। साथै, संस्थालाई खाद्यान्न सहयोगसमेत प्रदान गरिएको छ।
‘होटल व्यवसायीको सम्मान, पर्यटनको विकास हाम्रो अभियान’ भन्ने नारासहित महासंघले मंसिर ११ देखि १७ गतेसम्म देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको छ। यसैक्रममा मंसिर ११ गते सेवा घरमा भोजन तथा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले सेवा घरकी अध्यक्ष देविसुमी मानव (सुमित्रा चौलागाईं) लाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो। उहाँले स्थापना दिवसको अवसरमा देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई शुभकामना दिँदै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग ग्रहण गर्दै सेवा घरकी अध्यक्ष देविसुमी मानवले महासंघप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा राख्नुभयो।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, प्रशासन (संगठन) उपाध्यक्ष ज्ञानबहादुर गजमेर, उपमहासचिव मित्रप्रसाद ढकाल, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, केन्द्रीय सदस्य तिलकप्रसाद चापागाईंसहित विभिन्न होटल व्यवसायी संघ तथा संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो।