logo
२०८३ अषाढ ११, बिहिबार |
📰
🔍

बोकी अमृतका घल्चा

प्रभातफेरी अनलाइन२२६३ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार(१३ साल अघि)
Post Thumbnail

शारदाप्रसाद शर्मा
पातलेखेत –३, काभ्रे
२०६८ वैसाख २० गते

बोकी अमृतका घल्चा छातीमा तिमीले अघि,
हुर्काएर बढाएर लालिएँ पालिएँ रमी
ती घल्चामा म झुण्डिन्थेँ काखमा खेल्दथेँ,
अनि ‘आमा बुबू बुबू आमा’ झिँगोल्थेँ ‘झट्ट ले’ भनी ।।१।।

पिट्टामा पनि पाइन्थ्यो प्यारको प्रिय स्पर्शन,
खुट्टामा पनि भेटिन्थ्यो स्नेह सद्भाव दर्शन
मुखमण्डलमा खुल्थ्यो रक्तचन्दन झैँ रवि,
ज्ञान, सित्तलता, शान्ति वर्षिने चन्द्र झैँ छवि ।।२।।

म चाँहन्थेँ सधैँ तिम्रो काखमा पीठमा चढुँ,
म चाँहन्थेँ सधैँ तिम्रो खाटमा साथमा लडुँ
म चाँहन्थेँ सधैँ तिम्रो माया मैतिर उल्टियोस्,
म चाँहन्थेँ सधैँ तिम्रो छायाँ मैतिर पल्टियोस् ।।३।।

तिमीजस्तै छ यो चन्द्र तिमीजस्तै छ यो रवि,
तिमीजस्तै छ यो धर्ती तिमीजस्तै छ यो कवि
तिमीजस्तै छ यो बृक्ष तिमीजस्तै छ यो नदी,
तिमीजस्तै छ यो देश शान्त सौन्दर्य शाम्भवी ।।४।।

घना जङ्गलको तालू, मैदान त्यस मुन्तिर,
आँखा चन्द्र रवि ज्योति नासिका कोसी गण्डकी
श्रबण्यन्त्र गुफा कान गाला भीर पहाडको,
घाँटी गल्छी दुबै स्कन्धा द्यौराली हो पहाडको ।।५।।

चुरे झैँ पस्रिएको छ लमतन्न पहाड झैँ,
महाभारत झैँ फैली तेर्सिएकोे छ नाग झैँ
नाभीकूप बनेजस्तै देखिइन्छ उपत्यका,
चाँदी मुकुट लाएकी माता नित्य सुसेविता  ।।६।।

हात गोडा सफा चिल्ला लमक्क लमतन्न भै,
केराको काँगियोजस्तै पहाडहरू फैलिँदै
काखी भञ्ज्याङ चौतारी छाती पुट्ट सुमेरु झैँ,
पीठ, पेट तराईको अन्नले झैँ छ झोलिँदै ।।७।।

पहाडबीचको खोँच नदीको श्रोत झाडीमा,
सृष्टिकूप बनेको छ सुरक्ष्य गहिराइमा
कुनैमा सृष्टिको धारो त्यही खोँच पहाडमा,
अजस्र दूधका धारा छातीका कुचकुम्भमा ।।८।।

शीर्षस्थान सदा उच्च हिमाच्छादित शैल झैँ,
पाउ आधारशिला झैँ सेवा योग्य छ नाउ झैँ
यी मातृभूमिको रूप उस्तै छ नररूप झैँ ,
उस्तै मेरा पिता माताजस्तै देश स्वदेह झैँ ।।९।।